'अबको तीज नो ब्रत प्लिज' गीत युट्युब च्यानल हाइलाइट्स नेपालले 'प्राइभेट'मा राखेको छ। यही आइतबार मात्र सार्वजनिक भएको गीतले 'धार्मिक आस्थामाथि प्रहार गरेको' भन्दै हिन्दु जागरण नेपाल लगायतले आपत्ति जनाएको थियो।
गायिका सोफिया थापा र हाइलाइट्स नेपाललाई हिन्दु जागरण संस्था, लगायत पाँच/छ वटा संस्थाबाट दबाव आएको गायिका थापाले बताएकी छन्। संस्थाले भिडियो हटाउनुपर्ने माग राखे पनि गायिका थापा भने गीत 'डिलिट गर्ने' पक्षमा छैनन्।
'गीत हटाइएको छैन। प्राइभेट मात्र गरिएको हो। हामी हटाउने पक्षमा छैनौं,' उनले सेतोपाटीसँग भनिन्, 'हाइलाइट्सलाई दैनिक ५० औं कल आएपछि तत्काललाई सहमतिमा प्राइभेट मात्रै गरिएको हो।' गीत नहटाएमा मेसेन्जर मार्फत भौतिक रूपमै क्षति पुर्याइदिने धम्की समेत आएको उनले बताइन्।
'हामीले स्वास्थ्य र समानताको वकालत गरेर बनाएको गीत हो,' उनले भनिन्, 'गीतमा केही गलत छैन।'
हिन्दु जागरण नेपालले हाइलाइट्स नेपाललाई गायिका थापामाथि कारवाहीको माग राख्दै बुधबार पत्र पठाएको छ। जसमा यस गीतले 'मौलिक संस्कृतिबारे गलत सन्देश जाने' भन्दै भिडियो हटाउन अनुरोध गरिएको छ।