लकडाउनको समयमा विपीन कार्कीको सबभन्दा धेरै समय छोरीसँग खेलेर बितिरहेको छ। अब त केहीबेर टाढा बस्यो कि, सात महिनाकी छोरीका आँखाले आफूलाई पछ्याएको लाग्न थालेको उनी बताउँछन्।
बुबाको भूमिकामा छोरीसँग समय काटिरहेकै बेला हालै विपीनले अभिभावक र छोराछोरीबीचको सम्बन्धमा बनेको अलि फरक खालको सिनेमा हेरे, 'क्याप्टेन फेन्टास्टिक'।
करिब एक वर्षअघि हेर्दा मन परेको यो यो फिल्म हालै फेरि दोहोर्याउँदा फिल्म हेर्ने, बुझ्ने दृष्टिकोण नै फरक पाएको विपीनको अनुभव छ।
उनी भन्छन्, 'बुवा बन्नुअघि र बुवा बनेपछिको भिन्नताले फिल्मले पार्ने प्रभाव पनि बेग्लै भएको महशुस गरेँ।'
म्याट रोसको निर्देशन र कथामा बनेको 'क्याप्टेन फेन्टास्टिक' मा एक आदर्श बुवाले आफ्ना छ जना सन्तानलाई समाजको मूल्य-मान्यताभन्दा फरक हिसाबले हुर्काउन रचेको 'युटोपियन' संसारको कथा छ।
अमेरिकाको प्यासिफिक उत्तर पश्चिमी भेगको जंगलभित्रको यो संसार र बाहिरी संसारको धेरै कुरा मिल्दैन। यहाँ सातदेखि अठार वर्षका केटाकेटी सबै परिपक्व छन्। शिकार खेल्ने, पहाड चढ्ने, आफ्नो सम्पूर्ण काम र सुरक्षा आफैं गर्ने यी पात्रहरू शारीरिक रुपमा तन्दुरुस्त छन्। शारीरिक तालिम प्राप्त यी सबै पात्र बौद्धिक रूपमा पनि उत्तिकै तगडा छन्।
कार्ल मार्क्स र नोम चोम्सकीबारे खर्रर बहस गर्न सक्ने उनीहरू 'लोलिता' र 'द ब्रदर्स कर्माजोभ' जस्ता किताब पढ्छन्। 'क्याप्टेन फेन्टास्टिक' का पात्रहरू चिन्तक प्लेटोका आदर्श राज्यका पात्रजस्तै छन्। तर यी पात्रहरू नोम चोम्सकीको जन्मोत्सव मनाउँछन्।
यी पात्रका रोचक गतिविधि र संवादले फिल्म सुरूदेखि नै रोचक लाग्छ। तर जब यी छ सन्तानले आफ्नी आमाको मृत्युको खबर पाउँछन्, उनीहरूको संसारमा भावनात्मक भुइँचालो जान्छ।
विपीन भन्छन्, 'त्यति बेला फिल्मका ती बलिया पात्रहरूको मनभित्रको कोमलता छताछुल्ल हुन्छ।'
यो घटनापछि फिल्ममा केटाकेटीकी आमाको मृत्यु संस्कारको विषय विवाद बनेर केन्द्रमा आउँछ। यसपछिका घटनाक्रमले जंगलभित्रको संसार र बाहिरी संसारको द्वन्द्वको कथा पनि जोडिन्छ। अनि फिल्मले अझ नाटकीय मोड लिन्छ।
विपीनलाई लाग्छ, हरेक दर्शकले आफ्नो भोगाइ र सिकाइबाटै फिल्मबारे धारणा बनाउँछन्।
'फिल्मको शैली विशेष हुनुपर्छ भन्ने छैन। फिल्म हेर्दा मनलाई आनन्द आउने, नछोडूँ जस्तो लाग्ने भयो भने त्यही नै राम्रो फिल्म हो,' उनी भन्छन्, क्याप्टेन फेन्टास्टिकमा त्यो विशेषता छ। यसले दर्शकलाई निर्देशकले रचना गरेको अनौठो संसारमा पुर्याउँछ र आनन्द पनि दिन्छ।'
विपीनले 'क्याप्टेन फेन्टास्टिक' आनन्ददायी भएर मात्रै मन पराएका भने हैनन्। उनलाई फिल्मको अन्तर्यमा रहेको मर्म पनि उत्तिकै सान्दर्भिक लाग्छ।
'समाजसँग घुलमिल हुन नचाहने एउटा फरक समाजमा बस्न चाहेका मान्छेलाई समाजबाट टाढा बस्दाको फाइदा र चुनौती, दुवै खाले असर फिल्ममा देखाइएको छ। फिल्मले एउटै कुरा मात्रै सही नभनेर दर्शकलाई आफैं मनन गर्ने ठाउँ दिएको कुरा मलाई मन परेको हो,' उनी भन्छन्।
उनी यो फिल्ममा विद्रोह र सम्झौताको सन्तुलन भेट्छन्। आदर्शवाद र व्यवहारवादको मिश्रण भेट्छन्। यी विपरीत धार कुन ठीक वा बेठीक छनोट गर्ने जिम्मा निर्देशकले दर्शकलाई छोडिदिएका छन्। राजनीति, धर्म, बजार, यौनजस्ता मानिसमाथि शासन गर्ने धेरै कुराबारे फिल्मले प्रश्न गर्ने वा पुनर्विचार गर्ने ठाउँ दिएको छ।
उनकै शब्दमा, 'यो फिल्ममा भनिएका भन्दा नभनिएका, बोलिएका भन्दा देखाइएका कुरा महत्वपूर्ण छन्। तीमध्ये केही विम्ब र केही सिनेमाकै भाषामा बुझ्नुपर्ने हुन्छ।'
फिल्म राम्रो बनाउने कुरामा कथासँगै प्राविधिक पक्ष पनि सशक्त हुनु पर्छ। प्रोडक्सन डिजाइनको काम महत्वपूर्ण मान्ने विपीनको नजरमा 'क्याप्टेन फेन्टास्टिक' प्राविधिक हिसाबले पनि सशक्त फिल्म हो।
उनी प्रष्ट पार्छन्, 'बनाएको र भइदेको काममा फरक आकाश जमीनको फरक हुन्छ। यो फिल्म पहिल्यै डिजाइन गरेर तयारीसहितको परिकल्पना र सोचबाट बनाइएको स्पष्ट हुन्छ।'
त्यसैले विपीनले यो फिल्मको कलर, लाइटिङ, साउन्ड आदि पक्षमा निर्माणमा सम्झौता नगरिएको महशुस गरेका छन्।
उनी यो फिल्मको डाइरेक्टर अफ फोटोग्राफी (डिओपी) बाट प्रभावित छन्। फिल्मका मुख्य पात्रहरू सुनसान ठाउँबाट गाडीमा पटक-पटक सहर छिर्छन्। हरेक पटक उजाड र सानो ठाउँबाट ठूलो चहलपहल भएको ठाउँमा प्रवेश गरेका कुरा निर्देशकले दृश्यबाटै भनिरहन्छन्। उनीहरू आउने सानो बाटो, ठूला बाटोमा जोडिँदा दर्शकले पात्रहरू अर्कै संसारमा प्रवेश गरेको महशुस गर्छन्। विपीन यसलाई निर्देशकको कथा भन्ने शैली मान्छन्।
उनी थप्छन्, 'यस्ता कलात्मक शैली र विम्ब दोहोरिँदा फिल्म हेर्न मजा आउँछ। अहो! यो कुरा क्या मजाले देखाइयो जस्तो हुन्छ।'
यो फिल्ममा बुबाको भूमिका निर्वाह गर्ने भिगो मोर्टेन्सन चरित्रको मागअनुसार अभिभावक जो शिक्षक जस्तो पनि छ। धेरै देखाउन पाउँदैन। चाहेर पनि पाउँदैन। जिम्मेवार भूमिकामा, सानो मान्छेको अगाडि उन्मुक्त भएर खुल्न पाउँदैन। ठिक्क बोलेर, ठिक्क रिसाएर अड्कलेर बोल्नु पर्ने, अड्कलेरै हाँस्नु पर्ने भूमिकामा छन्। यसै फिल्मको अभिनयका लागि उत्कृष्ट अभिनेताको प्रतिस्पर्धामा ओस्कार अवार्डका लागि मनोनित भएका थिए।
नेपाली सिनेमामा खारिएको अभिनय गर्ने विपीन भने मोर्टेन्सनबाहेक उनको जेठो छोरा बनेका जर्ज म्याककेको अभिनयले पनि झनै लोभ्याएको बताउँछन्।
केटाकेटीलाई सिकाउने कुरामा समाज र अभिभावक हदैसम्म संवेदनशील हुनुपर्ने गम्भीर कुरालाई पनि फिल्मले सरल रूपमा भन्छ। यो सारले कलाकार विपीनभन्दा बुवा विपीनलाई झनै छोएको छ।
उनी भन्छन्, 'मलाई आदर्शवादी भए पनि क्याप्टेन फेन्टास्टिकजस्तै बुवा बन्न मन छ।'
हेर्नुस् युट्युबमाः
यो पनिः 'बुलबुल' निर्देशक विनोद पौडेललाई मनपरेको फिल्म 'डोर', हेर्नुस् युट्युबमा