चर्चित गीत 'नाइँ मलाई थाहा छैन'का जोडी सञ्जीव पराजुली र टीका प्रसाईंले गत महिना आफ्नो पहिलो युगल साँझ गरे। पोखरामा भएको युगल साँझकै सन्दर्भ पारेर उनीहरूले आफ्नो चार वर्ष लामो सांगीतिक सहयात्रामा गाएका गीतको संग्रह सँगसँगै भाग एक र दुई सार्वजनिक गरे।
यी दुई कलाकार युगल गीत गाउनुअघि एक्लाएक्लै परिचयका लागि संघर्षरत थिए। जब सँगै गाउन थाले, दुवैले पहिचान पाए।
युगल गीत कोसेढुंगा साबित भएको यो जोडीले युगल गीतबाटै हिट्स एफएम म्युजिक अवार्ड, रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड, कालिका म्युजिक अवार्डलगायत जितिसकेको छ।
सञ्जीव र टीकाको स्वरमा कार्टुन क्रुको नाच समेटिएको 'नाइँ मलाई थाहा छैन'को क्लब मिक्स भर्सन त भाइरल नै भएको थियो। युट्युबमा दर्जनौं डान्स कभर भिडिओ भएको यो गीतको भ्यूज चार करोडभन्दा धेरै छ।
युगल गायनबाहेक आफ्नो एकल गायनलाई पनि निरन्तरता दिइरहेका यी दुईले आफ्नो एल्बमको नामजस्तै आगामी दिनमा पनि सँगसँगै मिलेर काम गर्ने योजनामा छन्।
पछिल्लो चर्चित गीत 'माया लुकीलुकी'की गायिकासमेत रहेकी टीका भन्छिन्, 'हाम्रो सहयात्रा आकस्मिक र रोचक छ।'
उनीहरूले सहकार्य गर्ने बेला भूगोलको दूरी तर प्रविधिको निकटता थियो। सञ्जीव अस्ट्रेलियामा र टीका काठमाडौंमा थिए।
विराटनगरका सञ्जीव र झापाकी टीका एउटै वर्ष नेपाली ताराको प्रतिस्पर्धामा भिडेका थिए। नेपाली तारा पहिलो शृंखलामा सहभागी भएर पनि यी दुईबीच चिनजान भएन। नेपाली तारामा टीका टप-४० र सञ्जीव टप-२० सम्म पुगेका थिए।
सञ्जीव जीविकोपार्जनका सिलसिलामा अस्ट्रेलिया पुगे। विदेशी भूमिमा केही समय बिताएपछि उनी संगीतमा सक्रिय हुन थाले।
सञ्जीव भन्छन्, 'मलाई युगल गीत गाउने रहर थियो। त्यसका लागि महिला स्वर खोजिरहेको थिएँ।'
ठीक त्यही बेला टीकाले आफ्नो पहिलो एल्बम 'मेलोडी' सार्वजनिक गरेकी थिइन्। 'तिम्रो सुर मेरो गीत' र 'अन्ताक्षरी'जस्ता रियालिटी सोकी विजेता टीका १२ वर्षको संघर्षपछि बल्लतल्ल आफ्नै एल्बम निकाल्न सम्भव भएको थियो।
युट्युबमा टीकाको स्वर सुनेर मन परेपछि सञ्जीवले अस्ट्रेलियाबाट म्यासेन्जरमै युगल गीत गाउने प्रस्ताव राखे। यो प्रस्ताव गर्ने बेला सञ्जीवले आफ्नो स्वरमा टीकाकै गीत गाएर पठाएका रहेछन्।
टीका भन्छिन्, 'उहाँको स्वर र प्रस्ताव राख्ने शैली मन पर्यो।'
सँगै काम त गर्ने, तर नभेटेको मान्छेसँग काम गर्दा कस्तो होला? यस्तै आशंकाबीच दुवैले एउटै गीतमा आवाज दिए– तिमी मलाई मनपर्छ। टीका सञ्जीवकै कर र उत्प्रेरणाले आफ्नै शब्द, संगीतमा यो गीत गाएको बताउँछिन्।
चार वर्षअघि एउटा गीतमा सँगै काम गर्ने सोचले सम्पर्कमा आएका यी दुईले पहिलो गीतबाट सकारात्मक प्रतिक्रिया पाए। त्यसपछि सञ्जीवले फेरि अर्को प्रस्ताव राखे, 'यो पटक अलि नोंकझोंक शैलीको युगल गीत गरम्।'
टीका थप्छिन्, 'मसँग नाइँ भन्ने कुनै कारण नै थिएन।'
आशिष अविरलको संगीत र एकनारायण भण्डारीको शब्दमा उनीहरूको दोस्रो गीत 'नाइँ मलाई थाहा छैन' हिट मात्रै भएन, भाइरल नै भइदियो।
त्यही गीतको चर्चाले सञ्जीव र टीकालाई हिट 'जोडी' बनाइदियो। उनीहरूले सोचेभन्दा बढी स्रोताको प्रतिक्रिया पाए। दुईजनालाई भविष्यमा पनि गीत गाएको हेर्न चाहने शुभेच्छुक धेरै भए।
सञ्जीव भन्छन्, 'हामी सहकार्यमा स्रोताको चाहना पनि मिसिन पुग्यो।'
'कर्के नजर' उनीहरूको पछिल्लो सफल गीत हो, जसको युट्युब भिडिओले २ करोड ३० लाखभन्दा बढी भ्युज पाइसकेको छ। यही गीतबाट उनीहरूले चार वटा अवार्ड हात पारिसकेका छन्।
यो सफल संगीत यात्रा रमाइलो भए पनि यहाँसम्म आइपुग्न उनीहरूले दुःख पक्कै गरेका छन्। फरक देशमा हुनुका प्राविधिक कठिनाइ पनि झेलेका छन्। नेपाल र अस्ट्रेलियाबीच करिब पाँच घन्टा समय फरक पर्छ। नेपालमा रातिको ८ बज्दा उता रातिको १ बज्ने हुँदा दुवैको अनुकूल समय मिलाउन धेरै पटक अप्ठ्यारो भएको उनीहरू बताउँछन्।
कुनै जमाना थियो गायकले गाउने काम मात्रै गर्दा पुग्थ्यो। पछिल्लो समय गीत कस्तो बनाउनेदेखि गीत उत्पादनसम्मका कुराबारे कलाकार आफैंले चिन्ता गर्नुपर्ने स्थिति छ। यो प्रक्रिया र झन्झट पनि उनीहरूले बेहोरे।
तर यस्तै अप्ठ्यारा सुल्झाउने र गीत कसरी राम्रो बनाउने भन्ने क्रममै उनीहरू मित्रता झनै कसियो। संगीतका अन्तिम निष्कर्षमा पुग्नुअघि मत बाझाबाझ पनि हुन थाल्यो। यही कारण उनीहरूले एकपछि अर्को हिट गीत पनि जन्माउन सकेको उनीहरूको दाबी छ।
'एक्लै काम गर्दा एकजनाको मेहनत र आइडियाले काम गर्छ। दुई जनाले बनाएको गीतमा त्यो मेहनत र आइडिया डबल हुन्छ,' उनीहरू भन्छन्, 'स्रोता दर्शकको माया पाइन्जेल हामी सँगसँगै हुनेछौं।'