किताब यात्रा फाउण्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ २०२० को उद्घाटन सत्र सम्पन्न भएको छ।
विशेष गरी उपत्यकाका चाडपर्वमा मनाइने जात्राहरूमा गरिने नेपालको मौलिक नाच ‘लाखे नाच’मार्फत् र पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै हरिवंश आचार्यले पछिल्लो समय पठक संस्कृतिको विकास भएकाले किताबको भविष्य उज्वल भएको बताए।
नेपालमा हुने जात्राहरूमा किताब जात्राले पनि नयाँपन भित्र्याएको हरिवंशको आशय थियो।
उनले भने, ‘जात्रा नेपालमा एकदमै राम्रो हुन्छ। काठमाडौंमा घर घरमा खाना डेलिभरि गर्ने धेरै छन्। किताब घर घरमा पुर्याउने काम थाहा थिएन। यो साहित्यको सेवा पनि हो। यसबाट म एकदमै खुसी छु।’
किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले आफूले पठन संस्कृतिको विकास गर्न सबैमा पुर्याउने र साहित्यलाई जोड्ने उद्धेश्यले किताब जात्राको आयोजना गरिएको बताए।
प्रेम साहित्य सम्मान सरुभक्तलाई
यात्रा फाउण्डेसनले २०२० को ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ।
प्रेमप्रसाद अधिकारीको स्मृतिमा यसवर्षदेखि प्रदान गर्न लागिएको उक्त पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।
२०१२ को भाद्रमा पोखरामा जन्मेका सरुभक्तले उपन्यास, नाटक, मुक्तकलगायत विभिन्न विद्यामा सशक्त कलम चलाएका छन्।
‘सिर्जनालाई मानवीय अहमको उदात्तीकरण परिभाषित गर्दै प्रयोग गर्नुभएको पूर्णताउन्मुख शून्यवादले नेपाली साहित्यको दार्शनिक मानक स्थापना गर्न सफल भएको ठहर गर्दै यस वर्षको प्रेम साहित्य सम्मान प्रदान गरिएको छ,’ सरुभक्तलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ।
पुरस्कार प्राप्त गर्दै लेखक सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए।
‘हामी धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित छौं। जसबाट हामी बाहिर निस्केर मौलिक चिन्तन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौं?’
यस्तो अवस्थामा आफूले पाठकको अपेक्षालाई पूरा गर्ने मौलिक प्रयत्न गर्ने बताए।