नेपालय प्रकाशनले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी महिला नेतृत्वलाई सुम्पेको छ। प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुबै क्षेत्रलाई अब दुई जना महिलाहरूले सम्हाल्ने भएका छन्। व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले सम्हाल्ने नेपालयले जनाएको छ।
लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन्। अंग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने सृजनशील लेखनमा सकृय छिन्।
पब्लिकेसन नेपालयको यो नयाँ टिम अब २०२० का निम्ति ताजा प्रकाशन तालिका सहित कृतिहरू प्रकाशन गर्ने काममा जुटेको छ।
'हाम्रो नयाँ टीमले पब्लिकेसन नेपालयका प्रकाशोन्मुख कृतिहरूमा मात्र होइन नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु' नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन्।
'लामो समयसम्म महिलाका कथा भन्ने शैलीलाई कथित साहित्यिक दर्जा दिइएको थिएन। वैचारिक विविधता लोकतन्त्रको आधार हो। आफ्नो संकीर्ण पूर्वाग्रहभन्दा माथि उठेर अरुको पीडा बुझ्न सक्ने नागरिकले मात्रै लोकतन्त्रको मर्मलाई जीवित राख्न सक्छन्, 'आफ्नो प्रकाशकीय भूमिकाबारे प्रकाश पार्दै भूषिता भन्छिन्, 'यिनै कुरालाई मनन गर्दै यो वर्षदेखि नेपालयले सकेसम्म बढी महिला, तथा अन्य सिमान्तकृत समुदायका अलिखित कथा तथा नौला साहित्यिक शैलीका पुस्तकलाई विशेष स्थान दिने छ।'
पब्लिकेसन नेपालयको व्यवस्थापनको बारे प्रकाश पार्दै सिइओ सैजन मास्के भन्छिन्, ‘आजसम्म हामीले ४५ वटा कृतिहरू प्रकाशित गरिसकेका छौं। यो वर्ष हामी प्रकाशनको थप रणनीति तय गर्नेछौं जसमा महिला सर्जकहरूको अहम भूमिका रहनेछ'।
नेपालयमा लामो समयसम्म प्रभावमा रहने कृतिहरूको खोजीमा हुनेतर्फ नयाँ नेतृत्वको ध्यान केन्द्रित रहने उनको भनाइ छ।
नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन्,'नेपाली प्रकाशन उद्योगको क्रियाशील प्रकाशकमध्ये एक भएको नाताले, यो उद्योगमा नयाँ स्फूर्ति थप्दै जानु हाम्रो जिम्मेवारी हो। हामीले सन् २००५ मा प्रकाशित गरेको पहिलो पुस्तक 'पल्पसा क्याफे' देखि नेपाली प्रकाशन उद्योगमा योगदान पुर्याउने कोसिस कायम राख्दै आएका छौँ।'
नेपालयको नयाँ नेतृत्वले प्रकाशन उद्योग र नेपाली पाठकका निम्ति थप महत्वपूर्ण योगदान गर्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए।