'हङकङ पोखरा, निर्मोही आफ्नो को छ र?'
झन्डै बाइस वर्षअघि यो गीत गाउँदै गर्दा विवेक श्रेष्ठलाई यसको मर्म प्रत्यक्ष महशुस थिएन। कन्दरा ब्यान्डको लोकप्रियतामा इँटा थपेको 'हङकङ पोखरा' मा सरूभक्तले परदेश र परदेशीको भावना समेटेका थिए।
सन् २००१, सेप्टेम्बरमा पहिलोपटक बेलायती भूमि टेकेपछि विवेकले महशुस गरे- 'सरूभक्त दाइले मेरो भविष्य पहिल्यै लेखिदिनुभएको रहेछ।'
धेरै नेपाली गायकले विदेशलाई गीतमा दुःखको विम्ब बनाएर गाएका छन्। विवेक पनि यो दुःखको भुक्तभोगी बनेको १८ वर्ष भयो।
यो वियोगलाई विदेशी भूमिमा मुटु निचोर्दै उनले धेरै पटक गुनगुनाए–
विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
झन्डै १२ वर्ष बेलायत र त्यसपछि पाँच वर्ष पोखरामा बिताएका विवेकले हालै आफ्नो गुँड अस्ट्रेलिया सारेका छन्। गुँड जता सरे पनि बेलाबेला पखेटा फिँजाएर नेपाल आइराख्छन्। विगत छ महिनामा मात्रै उनी तीन पटक नेपाल आए। पछिल्लो पटक अंग्रेजी नयाँ वर्षछेक आएका बेला उनीसँग भेट्ने मौका जुर्यो।
त्यही भेटमा उनले अस्ट्रेलिया जाने कारण खुलाए, 'सन् २०१४ मा पोखरा बस्ने मन बनाएर फर्केको थिएँ। तर नयाँ परिवेशमा घुल्नै सकिनँ।'
एक दशकपछि पोखरा फर्किंदा उनलाई साथीभाइ र परिवेश सबै उस्तै होला भन्ने लागेको रहेछ। वर्षौं बिते पनि उनको भावना–कल्पना युवाकालीन फुर्सदिला दिनहरूमै अल्झेको थियो। सँगैसँगै हिँड्ने, डुल्ने, खाने र सुत्ने बेला पनि नछुट्टिने साथीहरू व्यस्त भइसकेको उनलाई थाहापत्तो थिएन।
'नयाँ परिवेशमा म विचलित भएँ,' उनले भने।
पुराना सदस्यहरू अन्तै लागिसकेको कन्दरामा यति बेला विवेकबाहेक सुनिल थापा र बुद्धराज बज्राचार्य मात्रै छन्। पछिल्ला पाँच वर्षमा यिनै तीन सदस्यको सहकार्यमा विवेकले लामो समय विश्राम लिएको कन्दरालाई नयाँ गीत र कन्सर्ट मार्फत ब्युँताउने प्रयास गरे।
सम्बत् ५० दशकमा जन्मेका कन्दराका धेरै समकालीन ब्यान्ड संगीतबाट हराइसकेका छन्। ब्यान्डको नाम र काम जोगाउन निरन्तर प्रयास गरिराख्ने थोरै ब्यान्डहरूमध्ये एक हो कन्दरा। यसमा विवेक र सुनिलको मित्रताको भूमिका ठूलो छ।
'लेककी हे माया', 'डाँडापारी', 'तिमी पारि त्यो गाउँमा', 'विदेशिएर गइन्', 'तगारोमा रुमाल राखी'लगायत अधिकांश गीतमा मीठा धून बनाउने सुनिल कन्दराका मेरुदण्ड हुन्। उनले ब्यान्डका लागि गीत लेखेका पनि छन्।
'ऊ नभएको भए कन्दरा यहाँ आइपुग्ने थिएन,' सुनिलको क्षमता र साथ प्रशंसा गर्दै विवेकले भने। विवेकका अनुसार, सुनिल र उनको सम्बन्ध ब्यान्ड सदस्यमा मात्रै सीमित थिएन, छैन।
उनकै शब्दमा, 'सुनिल मेरो साथी हो, दाइ पनि।'
यी दुईको मित्रता कन्दराको इतिहासभन्दा पुरानो छ।
दुई दौंतरी पढ्ने स्कुल, कक्षा र बस्ने बेन्च एउटै थियो। स्कुलदेखि गाउँटोलमा हुने सांस्कृतिक कार्यक्रममा सँगै हुन्थे। किशोरकालमा एउटै ब्यान्डमा जोडिए। उनीहरू सदस्य रहेको 'पिस ह्यांकी' ब्यान्डबाट नै पछि 'कन्दरा' र 'ब्रो सिस' ब्यान्ड जन्मियो। विवेक र सुनिल कन्दरातिर लागे।
विवेकका अनुसार उनीहरू पहिला तीन-चार महिनासम्म एउटै गीत गाउँथे। उही गीत बजाएर अभ्यास गर्थे। रेकर्डिङ स्टुडियोमा जानुअघि नशानशामा त्यो गीत बसिसकेको हुन्थ्यो। कहाँ, के र कसरी गाउने सबै स्वस्फुर्त आउँथ्यो।
'पछिल्ला गीत चन्द्रकोटकी नानी, भेडीगोठैमा आदि बनाउने बेला त्यो पुरानो अभ्यास मिस भयो,' उनले दुखेसो पोखे।
'साथीहरू बदलिएर त मिस भएको होइन,' विवेक अभ्यासमा शंकालु बने। पछि नेपाल बसाइ क्रममा निष्कर्ष निकाले, 'साथी हैन, समय, परिवेश र संगीत बनाउने शैली बदलिएको रहेछ।'
विवेकले रोजे-खोजेको संगीत संगत र सत्संगबाट जन्मन्थ्यो। अहिलेको संगीतमा संगत हराएको छ। अचेल संगीतकारले धून बनाएर मोबाइलबाट पठाएमा गायकसँग नभेटिकनै गीत बन्छ। विवेकलाई यो प्रक्रिया असहज लागे पनि उनी यसलाई राम्रो वा नराम्रो भन्ने पक्षमा भने छैनन्।
'म पुरानै सोचमा अड्केको रहेछु,' उनले जोड दिए, 'त्यही भएर घुल्न सकिनँ।'
पुराना दिनमा जस्तै साथीहरूसँग मिलेर नयाँ-नयाँ गीत बनाउने अपेक्षा बोकेर फर्केका उनले सोचेजस्तो नभएपछि सुनिलसँग झगडा पनि गरे रे!
अहिले उनलाई लागिरहेछ, 'कन्दरा र मेरै लागि भनेर एक दशकभन्दा लामो समय कुर्ने धैर्य भएको साथीसँग व्यर्थै रिसाएछु।'
बालापनदेखिको दोस्तीमा देखापर्ने झगडा पनि मायाकै रूप हो। यस्तो झगडा उनीहरूले पहिलो पटक गरेका थिएनन्। त्यही भएर झगडापछि उनीहरूबीचको शंका, माया र सम्मान झनै बढेको विवेक बताउँछन्।
शंका र विचलनको चरणबाट गुज्रनु परे पनि विवेकलाई पछिल्लो अनुभवले सुखद पाठ सिकाएको छ।
पाठ हो– अब संगीतमा सक्रिय रहन नेपालै बस्नपर्छ भन्ने छैन। यसअघिका विदेश बसाइमा कन्दरा उनका लागि 'अनफिनिस्ड प्रोजेक्ट' थियो, जुन पूरा गर्न नेपाल धाइराख्नु पर्थ्यो। नयाँ निष्कर्षले उनलाई हाइसन्चो भएको छ।
'पोखरामाभन्दा अस्ट्रेलिया गएपछि सुनिल र बुद्ध दाइसँग धेरै कुरा हुन्छ। प्रविधिले हामी जहाँ बसे पनि गीतको कन्सेप्टबारे कुरा गर्ने सुविधा दिएको छ,' उनले सुनाए।
कन्दराबारे चिन्ता कम भएपछि यति बेला विवेक पुराना नेपाली गीतहरूको अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट गर्ने तयारीमा छन्। फेब्रुअरी १५ मा विज्ले कन्फेरेन्स एन्ड थिएटर सिड्नी र फेब्रुअरी २२ मा एमटिभी अनप्लग्डको पहिलो कार्यक्रम भएको सभा हल मिट मार्केट मेल्बर्नमा गर्ने कन्सर्टलाई उनले 'युफोनिकः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नाम दिएका छन्।
सन् २००३ मा भारतीय गजल गायक जगजित सिंहले 'क्लोज टु माइ हार्ट' गीति संग्रह निकालेका थिए। यसमा जगजितले आफूलाई मनपर्ने हिन्दी सिनेमाका गीत गाएका थिए। ती गीत सुन्दा विवेक पनि आफ्नो मननजिकका गीतबारे सोचिबस्थे।
उनले भने, 'हरेकको जीवनमा यस्ता प्रिय गीत हुन्छन्। मेरा पनि छन्। जसको गीत-संगीतले मलाई गायक बनायो, उहाँहरूप्रति सम्मान व्यक्त गर्ने बहाना पनि हो यो कन्सर्ट।'
आफ्नो गीत नहुन्जेल त धेरैले अरूकै गीत गाएर करिअर अघि बढाएका हुन्छन्। कुनै बेला विवेक भारतीय गायक किशोरकुमार र एसपी बालासुब्रमण्यमजस्तै आफ्नो स्वरमा हिन्दी गीत अभ्यास गर्थे। त्यसपछि उनी नारायणगोपाल, अरुण थापा, दीप श्रेष्ठ, तारादेवी, भक्तराज आचार्य, अरुणा लामाहरूका आधुनिक गीत गुनगुनाउने भए।
कन्दराका लागि गाएको गीतमा भन्दा विवेकले सन् २००१ मा एकल रुपमा निकालेको संग्रह 'उत्सव'मा उनको यो प्रभाव बढी झल्किन्छ।
'मेरो आवाजमा पाइने टेक्स्चर आधुनिक गायनको जस्तो छ भन्ने धेरै थिए। मलाई पनि त्यस्तै लाग्छ,' उनले भने।
'युफोनिकः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ'मा विवेकले आफ्नो 'टेक्स्चर'को भरपुर सदुपयोग गर्नेछन्। बेलायत छँदै उनले 'ट्रिब्युट टु द लिजेन्ड्स', 'सङ्स' फरएभर', 'जेनेरेसन्स टु जेनेरेसन्स' जस्ता कन्सर्ट गरेका थिए। 'युफोनिक' त्यसकै परिष्कृत रुप हुनेछ।
विदेशी भूमिमा नेपाली संगीतको स्तरीय कन्सर्ट गर्दा उनले आफूजस्तै प्रवासमा रहेका कलाकारलाई पनि नयाँ ऊर्जा थप्ने अपेक्षा राखेका छन्।
'प्रवासमा बस्ने धेरै साथीहरू नेपाल हुँदाको नाम, लगाव र अवसर छोडेर, पहिचान गुमाएर बस्दा निराश छन्,' उनले भने, 'मेरो यो कामले उहाँहरूमा पनि संगीतमा निरन्तरता दिन अब नेपालै जानुपर्ने बाध्यता छैन भन्ने सन्देश जान्छ।'
युफोनिक विवेकको व्यक्तिगत परिकल्पना हो। तर उनी भन्छन्, 'विवेक श्रेष्ठ भन्नेबित्तिकै कन्दरा जोडिइहाल्यो नि। कन्दराबिनाको विवेक के विवेक!'
उनी चाहन्छन्- आगामी दिनमा जे गरे पनि कन्दराले जोगाएको परिचय कायम रहोस्।
कला, साहित्य र संगीतले नयाँ पुस्तामा भाषा र भावना हस्तान्तरण गर्छ। विदेशमा नेपाली जनसंख्या क्रमशः बढिरहेकोले आफूले गर्न लागेको कामले नेपाली संगीतसँगै भाषा, संस्कृति हस्तान्तरणमा पनि सकारात्मक भूमिका खेलोस् भन्ने उनको चाहना छ। पुराना नेपाली गीतको विशेषता बुझ्ने विश्वास राखेका छन्।
भने, 'हामीले पुराना पुस्तालाई सम्झेनौं भने हामीलाई पनि भोलिको पुस्ताले बिर्सनेछन्।'
संगीतमा तीन दशक लामो समय बिताइसकेका विवेकले युफोनिकलाई कार्यक्रम मात्रै नभई अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएका छन्। तर चालीस वर्ष पार गरिसकेका विवेकमा अब न २०-२२ को जस्तो तन्नेरी जोस छ, न समय नै।
'अब गर्ने काममा चर्चित हुने अपेक्षाभन्दा बढी दायित्वबोध छ,' उनले भने दिए, 'यो चरणमा पारिवारिक, व्यावहारिक सीमा स्वीकारेर काम गर्ने शैली पनि फेर्नुपर्ने आवश्यकता छ।'
'चञ्चले कान्छी'देखि 'भेडीगोठ'सम्म आइपुग्दा कन्दराका छवटा गीति संग्रह सार्वजनिक छन्। पुराना हुन् वा नयाँ, प्रायः सबै गीतमा एउटा अर्को साझा विशेषता पाइन्छ, मेलोडी।
'लेककी हे माया' सम्झनुस् वा 'तगारोमा रुमाल राखी', ती मेलोडीप्रधान नै छन्। कन्दराका मेलोडियस भाकामा प्रकृति, परिवेश र प्रेमसँगै पोखराको दिल पनि मिसिएको छ। यही पोखराको दिलमा एउटा पुस्ताकै स्मृति गाँसिएको छ।
कृपा अनप्लग्ड सिजन-३ का लागि विवेकले गाएको 'तिमी पारि' र 'लेककी हे माया'को अनप्लग्ड भर्सन भिडिओमा आएका प्रतिक्रिया हेरे त्यो स्मृतिको छनक महशुस हुन्छ।
एउटा प्रतिक्रिया– म अहिले बीस वर्षको भएँ। मेरो बुबाले 'तिमी पारि त्यो गाउँमा' र 'तगारोमा रुमाल राखी' गाउने गर्नुहुन्थ्यो। बिस्तारै यी गीत मलाई पनि मनपर्न थाले। केही वर्षअघि विद्यालयको फेरवेलमा मैले पनि गुनगुनाएँ।
प्रवासमै बसेर भए पनि संगीत यसरी नै एउटा पुस्ताबाट अर्को पुस्तामा सरेको हेर्न चाहन्छन् विवेक। त्यसका लागि आफूले सकेको गर्न चाहन्छन्।
पोखरा, बेलायत, अस्ट्रेलिया जहाँ पुगे पनि विवेकको प्राथमिकतामा संगीत थियो, संगीत नै छ।
भन्छन्, 'विदेशी भूमिलाई अब दुःखको विम्ब होइन, अवसर र सम्भावनाको थलो बनाउने प्रयास गर्दैछु।'