आमिर खानद्वारा निर्मित तथा अभिनित ‘तलाश’ फिल्ममा ‘प्रोडक्सन असिस्टेन्ट’ छानिएकी थिइन्, उनी।
अन्तर्वार्ताको दिन थियो।
अर्का निर्माता फरहान अख्तरको ‘एक्सेल इन्टरटेन्मेन्ट’ कार्यालयमा उनी अन्तर्वार्ता दिन गइन्। मुम्बईको बान्द्रास्थित कार्यालयमा फिल्म निर्देशक रीमा काग्ती र निर्माण नियन्त्रकसँग भेट भयो। ‘दिल चाहता है’, ‘लक्ष्य’, ‘डन’ जस्ता सुपरहिट फिल्म बनाएको उक्त कम्पनीमा उनी जुन उत्साहका साथ छिरेकी थिइन्, अनुभव उत्तिकै नमीठो रह्यो।
सुटिङ सुरु भएदेखि डबिङ, सम्पादन सकेर रिलिज नहुँदासम्म फिल्ममै जोडिनुपर्ने कामलाई ‘अफर’ गरिएको पारिश्रमिक सुनेरै उनी रन्थनिइन्।
त्यति ठूलो फिल्म, पारिश्रमिक महिनाको ५ हजार भारतीय रुपैयाँ!
त्यति पैसाले मुम्बईमा गुजारा त टाढाको कुरा, आफ्नै दिनको खर्च धान्न पनि मुश्किल पर्थ्यो।
ठूलो निर्माण कम्पनीमा आबद्ध भएर अनुभव बटुल्ने अवसर एकातिर थियो भने जिन्दगीका हरेक आवश्यकतासँग सम्झौता गर्नुपर्ने बाध्यता अर्कातिर।
उनी असमञ्जसमा थिइन्।
त्यही निराशाबीच उनलाई एउटा फोन आयो, जसले सम्पदा मल्लको जिन्दगी नै बदलियो।
‘म सवा मुमताज,’ उताबाट आवाज आयो, ‘के गर्दैछौ?’
बलिउडकी लोकप्रिय सिरियल लेखिकाको यो प्रश्नले एकछिन त उनी अक्कबक्क परिन्।
‘केही छैन म्याम,’ जवाफ दिइन्।
‘त्यसो भए सुन, मैले तिमीलाई एउटा सिरियलको निम्ति सहायक पटकथा लेखकमा छानेकी छु,’ सवाको भनाइ सम्झँदै सम्पदाले भनिन्, ‘मैले इमेलमा कथा पठाइदिएको छु, त्यसकै आधारमा दुई घन्टामा पटकथा लेखेर पठाऊ।’
करिब दुई वर्षदेखि जिटिभी, कलर्स, स्टार लगायत हिन्दी च्यानलमा धारावाहिक लेख्दै आएकी सम्पदालाई पहिलो अफर आएको त्यो सिरियल थियो– ‘ए रिश्ता क्या कहेलाता हे’।
अनि, पारिश्रमिक– महिनाको ४० हजार रुपैयाँ।
उनले तुरुन्तै ‘हुन्छ’ भनिन्।
‘म गोरेगाउँ बस्थेँ, बान्द्राबाट त्यहाँसम्म पुग्न दुई घन्टा लाग्थ्यो,’ उनले भनिन्, ‘पुग्नेबित्तिकै इमेल खोलेर सर्रर कथा पढेँ, अनि दिमागमा जस्तो आयो, त्यस्तै एकसरो पटकथा लेखेर पठाइदिएँ।’
पठाउन त पठाइन्, तर उनी आफैंलाई चित्त बुझेको थिएन।
पहिलो त, उनले त्यो सिरियल कहिल्यै हेरेकी थिइनन्। त्यसमाथि समय सीमामा यस्तरी बाँधिएकी थिइन्, उनलाई त्यो सिरियलबारे अलिकति अनुसन्धान गर्ने फुर्सत पनि भएन। सवाले पठाइदिएको कथा र अघिल्ला शृंखलाको स्क्रिप्टधरि राम्ररी पढ्न भ्याइनन्।
उनी आफैंलाई मन नपरेको स्क्रिप्ट सवा मुमताजलाई चित्त बुझ्ने कुरै भएन।
‘स्क्रिप्ट पढेर सवाले मलाई गाली गर्नुभयो। टेलिसिरियलका बारेमा केही थाहा नभएको मान्छेले किन निवेदन दिएको भन्दै रिसाउनुभयो,’ उनले भनिन्।
फिल्म लेखन र निर्माणमा करिअर बनाउन मुम्बई छिरेकी सम्पदा हार मान्ने स्वभावकी थिइनन्। अवसर भनेको बारम्बार आउँदैन भन्ने उनले बुझेकी थिइन्।
उनले सवासँग एक दिनको थप समय मागिन्।
‘ठिक छ एकदिन,’ सवाले सोझै भनिन्, ‘नभए भोलि म अर्कैसँग कुरा गर्छु।’
‘मैले एकदिनको समयमा रातभरि त्यही सिरियल हेरेँ, अरू पनि थुप्रै हेरेँ। अनि नयाँ ढंगबाट पटकथा लेखेर पठाएँ,’ सम्पदाले सम्झिइन्।
यसपालि सवाको मन फेरियो।
हिन्दी सिरियल लेखनमा सम्पदाको यात्रा सुरु भयो।
यसबीच सम्पदाले लगभग एक दर्जन सिरियलमा पटकथा लेखिसकेकी छन्। जति काम गर्दै गइन्, सिरियल लेखनका बान्कीसँग अभ्यस्त हुँदै गइन्। हुँदा हुँदा दिनकै दुई–तीनवटा सिरियल लेख्न थालिन्। सुरुमा उनको पटकथा पढेर रिसाएकी सवासँग पछि उनको राम्रो सम्बन्ध गाँसियो। उनीहरूले धेरै सिरियलमा सँगै काम गरे।
हिन्दी सिरियल लेखनमै जमे पनि उनी त्यसबारे कुराकानी गर्न खासै रुचाउँदिन्।
‘सिरियलको त के कुरा गर्नु, मलाई कुरै गर्न मन लाग्दैन,’ उनले हालै सेतोपाटीसँगको भेटमा भनिन्, ‘कस्ता–कस्ता कथा लेखियो, कहिले त सम्झँदा पनि दिक्क लाग्छ।’
सम्पदाको लेखन यात्रा सुरु भएको उनी सात कक्षा पढ्दादेखि नै हो। उनले पहिलोपटक फिल्म ‘क्याराबियन’ को समीक्षा लेखेकी थिइन्, जुन ‘द काठमान्डू पोस्ट’ मा छापियो। अखबारमा लेखसँग आफ्नो नाम पढ्न पाउँदा उनी फुरुंग परेकी थिइन्।
त्यसपछि उनले हिमालयन टाइम्स, इसिएस, वेब म्यागजिन लगायतमा लगातार आफ्ना लेख पठाउन थालिन्। ‘स्वतन्त्र भएर लेख्न थालेपछि जहाँ पनि लेख्न पाइन्छ। म सबैतिर आफ्ना लेख पठाउथेँ। त्योबेला मलाई आफ्ना लेख सबैतिर छापियोस् जस्तो हुन्थ्यो,’ उनले भनिन्।
यही लेखन लतले उनले १७ वर्षकै उमेरमा ‘अनायास एकदिन’ किताब निकालिन्।
बुवा अशेष मल्ल रंगमञ्च क्षेत्रका लोकप्रिय व्यक्तित्व भएकाले पनि उनलाई नाटक र सिनेकर्ममा गहिरो रुचि थियो। यही आकर्षणले उनी ‘एसियन एकेडेमी अफ फिल्मस् एन्ड टिभी’ मा स्नातकोत्तर पढ्न भारतको नयाँदिल्ली गइन्।
‘फिल्म मेकिङ’ मा स्नातकोत्तर गरेपछि अरू सबै साथी करिअर बनाउन मुम्बई गए, उनी भने नेपाल फर्किइन्। पाएसम्म यतै काम गर्ने उनको सोचाइ थियो।
उनी यहाँ काम खोजिरहेकी पनि थिइन्, त्यही बेला भारतको एनडिटिभीले ‘नक्सलाइट’ सम्बन्धी टेलिसिरियलमा काम गर्न प्रस्ताव गर्यो।
‘भारतमा काम गर्न निकै गाह्रो हुन्छ, करिअर बनाउन निकै दुःख झेल्नुपर्छ भनेर सिनियरहरूबाट सुनेको थिएँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘त्यही भएर म आत्तिएको थिएँ, अलमलमा थिएँ।’
अलमलिएकी सम्पदालाई उनकी आमाले बाटो देखाइन्। भनिन्, ‘गाह्रो भयो भने केही छैन, नेपाल फर्कनू। एउटा अनुभव त हुन्छ।’
आमाले भरिदिएको ऊर्जाले सम्पदालाई फेरि भारत पुर्यायो।
उनी ‘नक्सलाइट’ सम्बन्धी टेलिसिरियलमा अनुबन्धित भइन्। तर, काम सुरु भएको एक सातामै सिरियल बन्द भयो।
उनी रुनु न हाँस्नु भइन्। तै हरेस खाइनन्।
‘मैले त्यो क्षणलाई पनि सकारात्मक रूपमा लिएँ, कम्तीमा त्यसले हिन्दी सिरियल क्षेत्रमा प्रवेश गर्ने ढोका खोल्यो,’ उनले भनिन्।
उनले ‘ए रिस्ता क्या कहेलाता हे’ लगायत ‘फायर फ्लाइज’, ‘नाभ्या’, ‘इश्कका रगं सफेद’, ‘गुमराह’ लगायतमा काम गरेकी छन्। भारतीय सिरियल वास्तविकताभन्दा अत्यन्तै टाढा, ‘मेलोड्रामा’ र ‘रोनाधोना’ ले भरिएको हुन्छ भन्ने आरोप छ। उनी यसलाई स्वीकार गर्छिन्।
उनी आफैंलाई पनि हिन्दी सिरियल ‘बकवास’ लाग्छन्, तर त्यो जान्दाजान्दै उनी यसमा रमाएकी छन्।
‘भारतीय सिरियलमा काम गर्नुछ भने तपाईंले आफ्नो बौद्धिकता घरमै छाडेर जानुपर्छ,’ उनले भनिन्, ‘त्यहाँ लेखकले बौद्धिकता प्रदर्शन गर्न खोज्नु बेकार छ। सिरियलमा ज्ञानगुनका कुरा कसैलाई चाहिएको छैन। कोही रुचाउँदा पनि रुचाउँदैनन्। मान्छे घर–घरमा हुने सानातिना झैझगडा र पारिवारिक कलहका कुरा हेरेर रमाउन चाहन्छन्। त्यसमा उनीहरू आफ्नै घरका कथा देख्छन् सायद। यसले दर्शकलाई मनोरञ्जन पनि हुन्छ र आफ्नो दुःखबाट थोरै भए पनि हल्का बनाउँछ।’
प्रायः ती सिरियलका दर्शक गृहिणी भएकाले कथावस्तु र पटकथा लेख्दा यसैमा ध्यान दिइने उनको भनाइ छ। ‘हामीले महिलाकेन्द्रित पात्र सिर्जना गर्नुको कारण यही हो,’ उनले भनिन्, ‘जो हाम्रा दर्शक हुन्, हामीले उनीहरूकै मन जित्ने लक्ष्य लिनुपर्छ। अहिले बनेका सबै सिरियल यही उद्देश्य वरिपरि घुमिरहेका छन्।’
उनका अनुसार सिरियलका कथा तथा पटकथा लेखकहरू सुरुआतदेखि नै एउटा सीमामा बाँधिएका हुन्छन्।
‘दर्शकले जस्तो विषयवस्तु रुचाउँछन्, त्यसैमा केन्द्रित रहेर लेख्नुपर्ने हाम्रो बाध्यता हुन्छ,’ उनले भनिन्, ‘हामीले दर्शक रुवाउनैपर्छ, हँसाउनैपर्छ, परिवारमा झगडा देखाउनैपर्छ र त्यसलाई मिलाउनैपर्छ।’
प्रत्येक शृंखलामा दर्शकको रुचि कायम राख्न वा त्यसलाई अझ बढाउँदै लैजान केही न केही कौतूहलपूर्ण माहोल पनि सिर्जना गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्।
यहाँनिर लेखकलाई बाँध्ने सबभन्दा ठूलो कडी बन्छ, सिरियलको ‘टिआरपी’।
‘टिआरपी’ भनेको सिरियलको लोकप्रियता मापन गर्ने माध्यम हो। प्रत्येक साता कुन सिरियल कति हेरियो र कुनमा कति विज्ञापनदाता आकर्षित छन् भन्नेले टिआरपी निर्धारण गर्छ। राम्ररी चलेको सिरियलको कुनै साता एकाएक टिआरपीमा तल खस्कियो भने त्यसको सबभन्दा ठूलो भार लेखकमाथि नै हुन्छ। च्यानल र निर्माण कम्पनीले तुरुन्तै कथालाई नयाँ मोड दिन दबाब दिन्छन्, ताकि टिआरपी बढोस्।
‘प्रत्येक बिहीबार भारतीय सिरियलको ‘टिआरपी’ सार्वजनिक हुन्छ। टिआरपी घट्यो भने त्यसको कारण लेखकसँग सोधिन्छ,’ सम्पदाले भनिन्, ‘त्यसपछि सिरियललाई कुनै न कुनै ‘ट्विस्ट’ दिनैपर्छ, भए–नभएको घटना जोडेर भए पनि।’
यसरी एक साता टिआरपी घट्दा कारण दिनुपर्ने लेखकले दोस्रो साता पनि घटे निर्माण कम्पनीबाट चेतावनी नै पाउँछ। लगातार तेस्रो वा चौथो सातासम्म टिआरपी बढ्न सकेन भने सिरियल नै छाड्नुपर्ने पनि हुनसक्छ।
हिन्दी सिरियलको नराम्रो पक्षसँगै राम्रो पक्ष पनि भएको सम्पदा बताउँछिन्।
‘यसले घर–घरको कथा मात्र भन्दैन, स–परिवार टेलिभिजन हेर्ने वातावरण पनि दिन्छ,’ उनले भने, ‘सिरियलले कुनै न कुनै रूपमा परिवार जोडेकै छ।’
सिरियलसँगै सम्पदाले बलिउड फिल्म ‘शुद्ध देशी रोमान्स’ मा ‘मेकिङ डिरेक्टर’ को काम पनि गरेकी छन्। त्यसमा उनले पूरा समय भने काम गरिनन्। साथीहरूसँग मिलेर आफ्नै फिल्म बनाउने तयारीमा उनी दुई–तीन महिनाभित्रै त्यसबाट अलग भइन्।
साथीहरूको सहकार्यमा उनले बनाएको फिल्म हो, ‘क्यारी अन कुत्तो’। उनले त्यसमा क्रिएटिभ प्रोड्युसरको काम गरेकी थिइन्। त्यो फिल्मले व्यावसायिक सफलता नपाए पनि समीक्षकहरूले रुचाएको उनी बताउँछिन्। उनी त्यसलाई बलिउड यात्राको ‘यादगार क्षण’ मान्छिन्।
‘हाम्रो फिल्म प्रदर्शनमा आएको केही दिनमै सलमान खानको ‘सुल्तान’ रिलिज भयो,’ उनले आफ्नो पहिलो फिल्मको अनुभव सुनाइन्, ‘सलमानको फिल्म भनेपछि त अरू सबै फिल्म हलबाट त्यसै हटाइँदो रहेछ। हाम्रो फिल्म एक हप्ता पनि नचली हलबाट बाहिरियो।’
बारम्बार उनलाई लाग्छ, भारतीय सिरियलले उनको क्षमता बाँधेको छ, खुम्च्याएको छ। उनी त्यसबाट निस्केर बलिउडको ठूलो पर्दामा उडान भर्न चाहन्छिन्। र, उनको कोशिस पनि यही हो।
बलिउडमा जम्न थाले पनि नेपाली फिल्म क्षेत्र सधैं प्राथमिकतामा रहने उनी बताउँछिन्।
बेलाबेला मौका पारेर नेपाली सिनेक्षेत्रमा काम पनि गरेकी छन्। गत वर्ष प्रदर्शनमा आएको छिरिङरितार शेर्पा निर्देशित सिरियल ‘सिंहदरबार’ को लेखनमा उनी आबद्ध थिइन्।
यो सिरियल भारतीयभन्दा फरक धारमा बनेको थियो। यसमा गौरी मल्लले महिला प्रधानमन्त्रीको भूमिका खेलेकी थिइन्। ‘हिन्दी सिरियलमा जस्तो हतारमा स्क्रिप्ट लेख्न परेन, विषयवस्तु पनि राम्रो थियो,’ उनले भनिन्, ‘सिरियल पनि राम्रो बन्यो।’
त्यसैबाट कमाएको पैसाले उनले ‘च्यान्टी’ नामक सर्ट फिल्म निर्माण गरिन्। यो फिल्म ‘एकादेशमा’ नामक छोटा फिल्म महोत्सवमा प्रदर्शन गरिएको थियो।
अघिल्लो वर्ष सम्पदाले ‘दृश्यांश’ प्रतियोगिता सुरु गरेकी छन्, जसमा प्रतियोगीले मोबाइलबाट खिचेको तीन मिनेटको भिडियो पठाएर भाग लिन सक्नेछ। उनी अहिले त्यसैको दोस्रो शृंखला बनाउने तयारीमा छिन्।
उनको अर्को तयारी पनि छ– हिन्दी फिल्म ‘हिमाल द स्नो’ बनाउने, जुन महिलाको सगरमाथा आरोहणमा आधारित छ।
‘यो फिल्ममाथि मेरो धेरै आशा छ,’ उनले भनिन्, ‘यसले राम्रो गर्यो भने म नेपालकै पहिलो भारतीय स्क्रिप्ट राइटर हुनेछु।’