‘चरी चट्ट परी भुरुरु ...’
तीन वर्षपछि स्वेता खड्का नाचेकी थिइन्।
उनको मन भारी थियो। हच्किएकी थिइन्। बिरामी थिइन्।
तै उनी थामिइनन्। आफ्नो नयाँ फिल्म ‘कान्छी’ को गीत जो प्रस्तुत गर्दै थिइन्।
‘त्यो दिन मलाई ज्वरो आएको थियो। दर्शकले मलाई कसरी लिने होलान् भनेर मन भारी थियो। सकी–नसकी एउटा गीतमा नाचेँ,’ तीन महिना लामो सुटिङ सकेर फिल्मको पहिलो गीत सार्वजनिक गर्न आएकी स्वेताले भनिन्।
‘सबैको मायाले मनमा अर्कै ऊर्जा थपियो,’ कार्यक्रममा पनि थोरै ‘नर्भस’ देखिएकी उनले आफूलाई सहज बनाउँदै भनिन्।
उनको हौसला र उत्साहमा भने कुनै कमी थिएन।
स्वेता तीन वर्षपछि फिल्ममा फर्केकी हुन्। ‘कोहिनुर’ पछि उनी पर्दाबाट टाढै बसिन्। यी तीन वर्षमा धेरै फिल्मका अफर आए। उनी मानिनन्।
बरु आफ्नै प्रोडक्सनमा फिल्म बनाउने निर्णय गरिन्।
मन छुने कथामा फिल्म बनाउने उनको निर्णयकै पहिलो उपज हो– कान्छी।
‘धेरै प्रस्ताव अस्वीकार गरेपछि दर्शकको मन छुने कथा बनाउने सोच आयो। यम थापा, आकाश अधिकारी दाइ मिलेर सल्लाह गर्यौं र ‘कान्छी’ बनाउने भयौं,’ उनले भनिन्।
कान्छी नाम सुन्दा झट्ट २३ वर्ष अगाडिको फिल्म याद आउँछ, शर्मिला मल्ल र शिव श्रेष्ठको।
यो कान्छीमा नामबाहेक सबै फरक भएको उनले बताइन्।
‘कान्छी नाम संयोगले जुरेको हो,’ उनले भनिन्, ‘पहिले अरू नै नाम सोचे पनि अन्तिममा कान्छी नै जुर्यो।’
‘कान्छी’ को मतलब सबैको प्यारी,’ उनले खुसी हुँदै भनिन्, ‘म पनि सबैै दर्शक, शुभचिन्तकको प्यारी हुन चाहन्छु।’ पुरानो कान्छीका सदस्यलाई सम्मान गर्न भने बिर्सिनन्।
स्वेताले ‘कान्छी’ बनाउने भएपछि चर्चा निकै चुलिएको थियो। एक नामले, अर्को उनको कमब्याकले। श्रीमान श्रीकृष्ण श्रेष्ठको निधनपछि उनले आफूलाई मिडियाबाट टाढा राखेकी थिइन्।
एक सफल व्यवसायी स्वेताले त्यसबीच आफूलाई काम र घुम्नमा व्यस्त राखिन्।
दर्शक र परिवारको प्रस्तावले फेरि फिल्मी संसारमा आएको उनी बताउँछिन्। ‘यी तीन वर्षमा दर्शकको धेरै माया पाएँ। दुखको समयमा नयाँ जीवन दिने श्रेय मिडिया र दर्शकलाई जान्छ। उहाँहरूको माया र हौसलाले उघ्रिने मौका मिल्यो,’ उनले भनिन्।
श्रीमान श्रीकृष्णको घरबाट धेरै साथ पाएको र आफ्नी आमाले पनि बारम्बार ‘तिमी केही नगर्ने, यत्तिकै बस्ने’ भन्दै उक्साएको उनले सुनाइन्।
अझ फिल्म निर्माण त रहर नभई बाध्यता भएको उनी बताउँछिन्।
‘श्रीमानको कामल यसै छाड्न सकिनँ। पहिला पार्टनरसिपमा फिल्म बनाएका थियौं,’ स्वेताले निन्याउरी हुँदै भनिन्, ‘कोहिनुरपछि त्यो कम्पनी निष्क्रिय भयो। अहिले नाम मात्रै परिवर्तन गरेँ। प्रोडक्सन हाउस उही हो।’
श्रीमानको कामप्रति नै आफूलाई समर्पण गर्दै निर्मात्री बन्न कदम चाले पनि एक्लै हुनु बाध्यता भएको बताउँछिन्।
एक्लै फिल्म बनाउँदा निकै अप्ठ्यारा आएको उनको अनुभव छ। त्यसमाथि आफैं अभिनेत्री। दुई भूमिकामा एक व्यक्ति समायोजन हुन उनलाई मुस्किल पर्यो।
सुटिङ क्रममा उनी ५५ जनाको टोली लिएर मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोमसम्म पुगेकी छन्।
त्यहाँ जानु सहज थिएन। ‘व्यवस्थापनमै आत्तिएँ,’ उनले अनुभव सुनाइन्, ‘निर्माण तयारीमा कलाकार, सुटिङ स्थल छनौट, सामान मिलाउँदा सुरुमा निकै गाह्रो भयो।’
‘त्यो सब तनावमुक्त हुन अभिनेत्रीको भूमिका अरूलाई नै दिने कि भनेर सल्लाह गरेँ। दुई भूमिकामा दर्शकले कुन रूपमा लिनुहुन्छ भन्ने डर पनि आयो। तर, निर्माण टिमको हौसलाले दुवै आफैं गर्ने निष्कर्षमा पुगेँ।’
पहिलोपटक मुस्ताङ गएकी उनी बिग्रेको र जोखिम बाटो देख्दा आत्तेकी थिइन्। बल्लतल्ल पुगे पनि कति दिन मौसमले साथ दिएन। जुन दिन सहज हुन्थ्यो खाना नखाई, रातभर नसुतेर भए पनि सबैले काम गरेको उनले बताइन्।
मुस्ताङमा अर्जुन पौडेलले निर्देशन गरेको गीत सुटिङ भयो। लामो समयपछि अभिनय गर्दा उनका हातखुट्टा लल्याकलुलुक भएका थिए। ‘आँखा चिम्लेर दादा (श्रीमान) लाई सम्झिएँ र टेक दिएँ,’ उनले भनिन्, ‘सबैले ताली पिट्नुभयो। त्यसपछि काम तीव्र रुपमा अघि बढ्यो।’
फिल्म निर्माणमा स्वेता नितान्त एक्ली भने थिइनन्। व्यवस्थापनको काम भाइ शैलेस र रवीन खड्काले सम्हालेका थिए। बाँकी काममा नृत्य निर्देशक वसन्त श्रेष्ठ र निर्देशक आकाश अधिकारी उनको दाहिने हात बने।
‘कोहिनुर निर्माण गर्दा अभिनयमा मात्र ध्यान दिनुपरेको थियो,’ श्रीकृष्णको अभाव खट्किएको बताउँदै उनले भनिन्,
‘फिल्म मुहुर्तमा नरिवल फुटाइनँ, उहाँकै फोटो पूजा गरेँ।’
‘कान्छी’ दर्शकले रूचाउने उनको विश्वास छ।
दयाहाङ राईसँग जोडी बनेर खेलेकी स्वेताले भनिन्, ‘कान्छीमा स्वेता र दयाहाङलाई हेर्न जाने दर्शक निरास हुने छैनन्। दर्शक झुक्काउने काम गरिएको छैन।’
कहाँ भेटिएला, हाँसी देऊ एकफेर, श्रीमान श्रीमती, कोहिनुरमा अभिनय गरेकी स्वेतालाई नारीकेन्द्रित फिल्मले बढी तान्छ। कान्छीको कथा पनि यस्तै छ।
तीन वर्षपछि ‘कान्छी’ बनेर फर्केकी स्वेतालाई हेर्न दर्शकले अझै ३ महिना कुर्नुपर्नेछ।
सबै तस्वीरः नारायण महर्जन/सेतोपाटी