सेतो वायुपंखी घोडा।
आँखा ठूल्ठूला। पूरै ताकत लाएर मुख बाउँदै, दुगुर्दै। दुगुरेजस्तो त देखिएको हो, खासमा उड्दै।
मुनि धर्तीमा बुद्धका पाँच स्वरूप छन्– आत्तिएका, दुःखी र प्रार्थना गरिरहेका।
शशि शाहले बनाएको यो पेन्टिङको मूल्य हो, सात लाख रूपैयाँ।
लामो समयदेखि घोडाका मात्र पेन्टिङ बनाउने शशिको नाम नै ब्रान्ड हो। नाम मात्र होइन, उनका घोडा पनि ब्रान्ड नै हुन्। ब्रान्डकै कारण उनका पेन्टिङ महँगा छन् भनी विश्लेषकहरू भन्छन्।
शशि यो मान्दैनन्।
आफ्ना कलाको मूल्य महँगो हुनुमा उनी फरक कारण देखाउँछन्।
पहिलो हो, उनको उमेर। ७७ वर्ष पुगेका उनी अब थोरै मात्र पेन्टिङ बनाउँछन्, धेरै समय लगाएर।
‘प्रत्येक पलको मोल पेन्टिङमा गाँसिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘मलाई आर्थिक समस्या छैन, मेरा सिर्जना बिक्री नभए पनि नोक्सानी हुँदैन।’
त्यसैले त, नबिकेका पेन्टिङ उनी आफैं सजाउँछन्, घरका भित्ताहरूमा।
कुपन्डोलस्थित घरका भित्ता उनलै बनाएका घोडा र अन्य विभिन्न पेन्टिङले सजिएका छन्, एउटा स्टुडियोझैं। आफूसँग भएका यी संकलन बेचेर उनी ‘रित्तो’ हुन चाहँदैनन्। त्यसैले, धेरै अवस्थामा त ग्राहक टार्नैका लागि लाखौं मूल्य तोकिदिन्छन्। भन्छन्, ‘एक किसिमले ग्राहक तर्साएकै हो।’
कोही यस्ता पारखी पनि भेटिन्छन् जसलाई मूल्यले रोक्दैन। केही समयअघि एक ग्राहकले १० लाख तिरेर उनको ‘घोडा’ लगेको उनी सम्झन्छन्।
‘अचेल २–४ वटा चित्र त बनाइन्छ। बेच्न मन लाग्दैन। धेरै मूल्य तोक्यो, त्यतिमै भए पनि किन्छन्। अनि त बेच्नु परिहाल्यो,’ उनले भने, ‘नबिक्दा आफूसँगै सुरक्षित हुन्छ।’
शशिमा घोडा प्रेम कसरी जाग्यो?
उनले जवाफ दिएनन्। बरु आफूसँगै राखेका कापी–कलम ताने र भने, ‘के भन्नुभएको? यहाँ लेखिदिनुस् त।’
उनी सुन्न सक्दैनन्।
सोध्नेले लेखेरै प्रश्न गर्नुपर्छ। उत्तर उनी बोलेर दिन्छन्।
‘हिन्दु शास्त्रअनुसार घोडा शक्तिशाली जनावर हो। मेरा चित्रको सैद्धान्तिक आधार यही हो,’ उनले भने, ‘घोडा कहिल्यै थाक्दैन, मलाई यही पक्षले आकर्षित गरेको हो।’
घोडा कलाले नै नाम र दाम कमाएका शशिले भने, ‘यही घोडाले त पालेको छ। यसको चित्र नबनाए त खत्तम भइहाल्छ नि!’
उनले क्यानभासमा भर्खरै बनाएको सातवटा घोडालाई सुनको हार लगाइदिएका छन्। उनी यसलाई स्वर्गकै शक्तिशाली घोडा भन्छन्। सायद यिनै शक्तिशाली घोडाले शशिलाई पनि शक्ति दिन्छन्, उमेर ढल्कँदै गए पनि, सुन्न नसक्ने भए पनि, क्यानभासमा घोत्लिन।
शशिले सुन्न नसक्ने सास्ती भोगेको सात वर्ष हुँदादेखि नै हो। सुन्न मद्दत गर्ने उपकरण ‘हियरिङ एड’ का भरमा लामो समय गुजारे। त्यो हुँदा उनी अरूले बोलेको धेरैथोरै बुझ्थे। तै राम्ररी सुन्न नसक्दा धेरैपटक समस्या झेल्नुपरेको अनुभव पनि छ।
‘एकदिन गुरुले चित्र बनाउन भनेर बाहिर लिएर जानुभयो। डुल्दै चित्र बनाउन ३० मिनेट समय दिनुभयो,’ आफूले भोगेका समस्या सुनाउँदै उनले भने, ‘मैले गुरुको कुरा नै प्रस्ट सुनिनँ। दिनभर त्यत्तिकै समय बिताएछु। पछि निकै गाली खाइयो।’
विगतमा हियरिङ एडले सुन्न मद्दत गरे पनि उमेर बढ्दै जाँदा काम गर्न छाडेको उनी बताउँछन्।
‘अहिले त कापी–कलमको सहारामा कुराकानी गर्छु,’ उनले भने, ‘यसमा पनि कुनैबेला अरूले लेखेका कुरा प्रस्ट नबुझ्दा अलमलिन्छु। र, आफ्नै पाराले उत्तर दिन्छु।’
उच्च रक्तचापका बिरामी उनलाई पछिल्लो समय बारम्बर ज्वरो र रुघाखोकीले सताउँछ। कलाले नै यी रोगसँग लड्न पनि सघाउँछ। ‘कला पारखीसँग गफिँदा म बिरामी छु भन्ने भुल्छु,’ उनले भने।
जिन्दगीको साढे सात दशक पार गरिसक्दा पनि पेन्टिङमै झुमिरहेका शशिको सपना चित्रकार हुने थिएन। दरबार हाइस्कुल पढ्दै गर्दा उनको एउटै उद्देश्य थियो— एसएलसीमा सजिलै पास हुने।
उनले पास हुन सजिला विषय खोजे। त्योबेला चित्रकला छुट्टै विषय थियो। यो पढ्दा सजिलै पास भइन्छ भन्ने लहडले उनलाई गुरु तेजबहादुर चित्रकार र दिलबहादुर चित्रकारसँग नजिक बनायो।
पछि त्रिचन्द्र क्याम्पस पढ्दा केदारभक्त माथेमासँग भेट भयो। माथेमाका चित्र भनेपछि शशि हुरूक्कै हुने, हरेक कला नियाल्थे।
[caption id="attachment_106826" align="alignnone" width="826"]
शशि शाहले रवीन्द्र श्रेष्ठसँगको सहकार्यमा बनाएको चित्र।[/caption]
त्यो बेला उनलाई लाग्थ्यो, ‘म पनि उनीजस्तै राम्रा चित्र कोर्न सक्ने भएको भए!’
माथेमासँग घनिष्ठता बढ्दै गयो, उत्सुक शशिको चित्रकला यात्रा पनि।
सजिलै पास हुन रोजेको विषय उनको लत बन्यो।
यो लतलाई उनी आफ्नो भविष्य बनाउन खोज्दै थिए। भारतस्थित जेजे स्कुल अफ आर्टसमा निवेदन दिए, नाम निस्कियो।
सन् १९६१ को कुरा हो यो।
डिप्लोमा गर्न उनी मुम्बई पुगे। मुराल्ससम्बन्धी विशेष अध्ययन गरे। कलामा मौलिकता हुनुपर्छ भन्ने ज्ञान पाए।
उनका कलाको मौलिकता बन्यो– घोडा।
हिन्दु धर्ममा आधारित घोडाले सूर्य तान्ने मान्यतामा उनको विश्वास छ। उनका घोडा पनि प्रायः यसैमा आधारित छन्।
कहिलेबाट घोडाबाट बनाउन थाले, उनलाई यकिन छैन। जापानमा गरेको कला प्रदर्शनी सम्झँदै उनी भन्छन्, ‘त्यहाँ मैले कल्कीको १० अवतार प्रदर्शन गरेको थिएँ। यसमा घोडा पनि एक अवतार थियो। सायद त्यही बेलाबाट घोडा बनाउन सुरु गरेँ।’
कुनै समय थियो, बत्तीका सहारामा क्यानभास पोत्दा–पोत्दै उनलाई बिहान सूर्यले भेटिसक्थ्यो। अचेल तिनै रात सम्झँदै कहिलेकाहीँ क्यानभास पोत्छन्।
‘बाँच्न तन्नेरी अनुभूत हुनै पर्छ,’ उनी भन्छन्, ‘म कला–सिर्जनामार्फत् नै हरदम तन्नेरी महशुस गर्छु।’ त्यसैले त, चित्रकला उनको ध्यान पनि हो, मानसिक सन्तुष्टि पनि।
क्यानभाससँगै उनी बगैँचा डुल्छन्। बिहानै घर वरपर चहार्छन्। घुरघुर गर्दै आउने परेवा र ढुकुरलाई चारो दिन्छन्।
‘प्रत्येक दिन चारो दिने परेवाको चित्र बनाउनुहुन्न?’
उनी फिस्स हासेँ।
‘घोडा औधी मनपर्छ, परेवासँग अनुभव तीतो छ।’
‘एउटा परेवाले अर्को परेवाको चारो खोसेर खाएको देखेँ, मन अमिलो भयो। परेवामा आकर्षण छैन, बरू ढुकुरको चित्र बनाउँछु, प्रेमका प्रतीक हुन्।’
यही प्रेम हो, अहिलेको उनको सिर्जना– सातवटा घोडा।
‘जी सेभन’ अर्थात् ‘ग्रेट सात’ उपमा दिएका यी घोडा आफ्नो प्रेमकै अनुरोधमा बनाएका हुन्– श्रीमतीको।
‘मैले पहिले बनाएको यस्तै घोडा उनलाई निकै मनपरेको रहेछ। बिक्री भयो,’ उनले भने, ‘उनले फेरि बनाउन अनुरोध गरिन्, बनाएँ।’
‘यो बेच्दिनँ।’
[caption id="attachment_106827" align="alignnone" width="826"]
शशि शाहको सात घोडाको चित्र।[/caption]