एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ।
नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताएको काठमाडौंको भनाइ छ।
‘एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो। यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु, ’ अदितीले भनिन् ।
अदितीले केही समयअघि लण्डनमा भएको वर्ल्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा काम समेत गरेकी थिइन्। जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरुसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरु उत्पादन गर्ने काम गरेकी थिइन् ।
मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितीले नेपालमा आएर चलचित्र समेत खेलेकी थिइन्। उनले सन् २०१८ मा कृ र २०२३ मा बाबरी फिल्ममा अभिनय गरेकी थिइन्।
यस बाहेक अदितीले विभिन्न म्युजिक भिडियो देखि विज्ञापनमा समेत काम गरिसकेकी हुन्।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै काठमाडौं दुई विदेशी खेलाडी बुल्गेरियन सेटर कोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ ।