नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोह र नयाँ पार्टीको गठनको औचित्य थिएन भन्नु केपी ओलीको सामु लम्पसार गर्नु सरह भएको बताएका छन्।
बुधबार काठमाडौंको सुकेधारामा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको पहिलो महाधिवेशनमा पनि विद्रोहको औचित्यको बारेमा पुष्टि भएको छ भनेर अनुमोदन गरेको बताए।
‘केन्द्रीय कमिटीको बैठकमा पनि हामीले पास गरेका छौं। अहिलेको घटनाक्रम (जेनजीको भदौ २३ र २४ गतेको आन्दोलन) ले झन प्रष्ट पारेको छ। त्यसो हुनाले यो विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामू लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुराबाहेक अरू केही हुन सक्दैन। त्यो हामीलाई मञ्जुर भएन। हामीलाई स्वीकार्य भएन। त्यसो हुँदा देशभरिका कार्यकर्ता त्यो प्रवृत्तिविरूद्ध जुध्नका लागि तयार भए,’ उनले भने।
नेकपा विघटन भएर एमाले पूर्ववत् अवस्थामा फर्किएपछि नै विद्रोहको सुरूआत भएको बताए।
‘२०७७ फालको फागुन महिनामा राष्ट्रिय भेलाको आयोजना गरेका थियौं। त्यो पनि विद्रोह नै थियो। राष्ट्रिय भेलामा समानान्तर कमिटीको सुरूआत गरेका थियौं,’ उनले भने।