नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छोटो समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्।
११ औं महाधिवेशनको उदाहरण प्रस्तुत गर्दै उनले दुई महिनाको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका हुन्।
सभापति शेरबहादुर देउवा पक्षले मंसिरभित्रै महाधिवेशन गर्न समय नपुग्ने दाबी गरिरहेका बेला त्यसतर्फ लक्ष्य गर्दै पौडेलले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले दुई महिनाको तयारीमा ११ औं महाधिवेशन गरेको बताएका हुन्।
यो पनि: कांग्रेस प्रवक्तालाई प्रश्न- चुनावअघि प्रधानमन्त्री घोषणा गरेर जाने तयारी छ?
‘महाधिवेशन गर्न समय पुग्दैन भनेको सुनिन्छ, ११ औं महाधिवेशनम गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ६० दिनमा सम्पन्न गरिएको हो। त्यसबेला हिँडडुल गर्न पनि गाह्रो अवस्था थियो, आज त्यस्तो अवस्था पनि छैन,’ पौडेलले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्।
२०६२ भदौ १ देखि ४ गतेसम्म कांग्रेसको ११ औं महाधिवेशन भएको थियो।
उनले वडादेखि केन्द्रसम्म पार्टीका सबै तहको अधिवेशन गर्न सके राम्रो हुने बताए। ‘यदि सबै तहको अधिवेशन गर्न सकिँदैन भने नीति र नेतृत्व प्रष्ट पार्न जुन जुन तहको अधिवेशन आवश्यक पर्छ, त्यो गरौं,’ पौडेलले भने, ‘फागुन २१ भित्र नीति र नेतृत्व प्रष्ट बनाएर जान सके कांग्रेस लोकप्रिय पार्टी बन्न सक्छ।’
उनले पार्टीका नीतिगत विषयलाई स्पष्ट बनाउने काम महासमिति र महाधिवेशन भएको तर केन्द्रीय समिति नभएको पनि बताए। अहिले नियमित महाधिवेशन वर्ष भएकोले महासमिति बैठक बस्न नसक्ने उनको भनाइ छ।
यथास्थितिलाई बदल्न पार्टीले गम्भीर ढंगले काम गर्न जरूरी रहेको बताएका पौडेलले जेनजी आन्दोलनलाई सामान्य ढंगले लिन नहुने र जेनजी पुस्ताले उठाएका मुद्दालाई गम्भीर ढंगबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए।
‘सबै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने माग छ। त्यो महाधिवेशनबाट मात्रै सम्भव छ, आन्तरिक विवाद विधिसम्मत ढंगले हल गर्दै जानुपर्छ, देशका सबै समस्या समाधान गर्ने एकामात्र उपाय महाधिवेशशन हो,’ उनले भने।
कार्यकाल सकिएको नेतृत्वले फेरि आफूलाई निरन्तरता दिने कुरा कानुनी र नैतिक हिसाबबाट अस्वाभाविक देखिने पनि उनको भनाइ छ।
भदौ २८ देखि सुरू केन्द्रीय समिति बैठक अहिले स्थगित छ। भोलिदेखि केन्द्रीय समिति बैठक पुन: सुरू हुँदैछ। यो केन्द्रीय समितिले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल एक वर्षसम्म थप गर्न सक्छ कि भन्ने आशंका पनि कांग्रेसभित्र छ।
त्यसतर्फ लक्ष्य गर्दै पौडेलले अहिलेको केन्द्रीय समितिको म्याद थप गर्न नहुने बताएका हुन्।
‘कार्यकाल बाँकी रहेका प्रतिस्षर्धी दलहरूले महाधिवेशन घोषणा गरेका छन्। हामीले गर्नैपर्ने महाधिवेशन टाढा लैजाने स्वभाविक हुन सक्दैन,’ उनले भने।
कांग्रेसमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते बुझाएका छन्।
विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।
‘बहुसंख्यक महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नुभएको छ। यसलाई सामान्य ढंगले लिन मिल्दैन। यो विधानमै व्यवस्था भएको विषय हो। विधानभित्र समावेश विषय लोकतान्त्रिक पार्टीले कार्यान्वयन नगर्न मिल्दैन,’ उनले भने।
विशेष महाधिवेशन नगर्ने हो भने समयमै विधिवत महाधिवेशन गर्नुपर्ने उनले बताए। ‘विशेष महाधिवेशन माग गर्नेहरूले पनि समयमै नियमित महाधिवेशन गर भन्नुभएको नियमित महाधिवेशन हुन सक्यो भने विशेष महाधिवेशन माग गर्ने साथीहरूको पनि भावना समेट्न सकिन्छ,’ उनले भने, ‘यो सबै समस्याको समाधान १५ औं महाधिवेशन हो भनेर जान्दाजान्दै यो महाधिवेशन गर्न किन सक्रिय नहुने? महाधिवेशन कार्यतालिका प्रकाशित गरेर कार्यान्वयन गर्न किन सबै सक्रिय नहुने?’
उनले जेनजी पुस्तालाई पनि क्रियाशील सदस्यतामा समेट्न जरूरी रहेको बताए। साथै क्रियाशील सम्बन्धी सबै काम गर्न स्वतन्त्र र निष्पक्ष समिति बनाएर जान सकिने उनले बताएका छन्।
साथै उनले अहिले प्रत्यक्ष कार्यकारीको माग उठेको भन्दै यसलाई संसदीय व्यवस्थाभित्र कसरी समेट्न सकिन्छ भनेर कांग्रेसले प्रष्ट पार्दै जानुपर्ने बताएका छन्।
‘सुधारिएको संसदीय व्यवस्था हामीले कसरी अघि लैजान खोजेको हो? संसदीय व्यवस्थाभित्र कसरी स्थिरता दिन सकिन्छ भन्नेजस्ता नीतिगत कुरा संस्थागत गर्न पनि महाधिवेशन आवश्यक छ,’ उनले भने, ‘सबै समस्या एउटा उपायबाट समाधान गर्न सकिन्छ- त्यो हो महाधिवेशन।’
उनले ढिलोमा पुसभित्र नीतिगत स्पष्टता भएको कांग्रेस र प्रष्ट दृष्टिकोणसहितको नेतृत्व ल्याउन जरूरी रहेको बताएका छन्। ‘महाधिवेशन नगरे कांग्रेसमा जटिलता थपिन्छ,’ उनले भने।
भिडिओ: