नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी मिडल ब्लकर कविता भट्टा सशस्त्र प्रहरी बलको एपिएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छिन्।
एपिएफ छाडेकी उनलाई क्लबका साथीहरूले विदाइ गरेका छन्। उनी एपिएफबाट राजीनामा दिएर अस्ट्रेलिया गएकी हुन्।अस्ट्रेलियामा पनि भलिबल खेल्ने उनले सेतोपाटीलाई बताइन्।

उनी २०७४ सालमा एपिएफ क्लबमा आबद्ध भएकी थिइन्। गत वर्ष उनले पल्सर स्पोर्ट्स अवार्डमा पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन्।
उनले सन् २०२४ को काभा महिला नेसन्स लिग र २०२३ को च्यालेन्ज कपमा नेपाली टोलीको प्रतिनिधित्व गरेकी थिइन्।
गत वर्ष भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी पनि अस्ट्रेलिया गएकी थिइन्। पुरुष टोलीका पूर्वकप्तान मानबहादुर श्रेष्ठ पनि अस्ट्रेलियामै छन्।
पछिल्लो समय फुटबल र क्रिकेटका राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइरहेको बेला अहिले भलिबलका खेलाडी पनि अस्ट्रेलिया पलायन भएका छन्। यस्तै तेक्वान्दोका पनि दर्जानौं खेलाडी हाल अस्ट्रेलियामा छन्।
अस्ट्रेलिया पुगेका केही फुटबल खेलाडी अहिले नेपालमा आयोजना भएको घरेलु प्रतियोगिता खेल्न फर्किएका छन्।