एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा ललितपुर क्विन्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा मंगलबार भएको खेलमा ललितपुरले मधेस युनाइटेडमाथि ३-१ सेटमका जित निकाल्यो।
उसले पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जित्यो। तेस्रो सेटमा मधेस २६-२४ ले नै विजयी भयो। चौथो सेट ललितपुरले २५-२३ ले जित निकाल्यो।
यसअघि पहिलो खेलमा ललितपुरले काठमाडौंलाई पराजित गरेको थियो।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको लिगमा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी छन्। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल यही असोज १९ गते हुनेछ।