एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विज विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको दोस्रो खेलमा कर्णालीले मधेश युनाइटेडमाथि ३-१ को जित निकालेको हो।
कर्णालीले पहिलो सेट २५-१५ ले जित्दा दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा परेको थियो।
तर तेस्रो सेटमा मधेश २८-२६ ले विजयी भयो। चौथो सेटमा कर्णाली २५-११ ले सहज रुपमा विजयी हुँदै खेल जित्न सफल भयो।
यसअघि ललितपुर क्वीन्सले काठमाडौँ स्पाइकर्सलाई पराजित गर्दै प्रतियोगितामा विजयको सुखद् सुरुआत गर्यो।
उद्घाटन खेलमा ललितपुरले काठमाडौँलाई ३–१ को सेटमा पराजित गरेको हो। खेलमा पहिलो सेट ललितपुरले काठमाडौँमाथि २५–२० ले जित्यो।
खेलको दोस्रो सेट भने काठमाडौँले आफ्नो पक्षमा पा-यो। काठमाडौँले ललितपुरमाथि २५–२१ को जित निकाल्यो। त्यसपछिको खेलमा ललितपुर नै विजयी भयो । ललितपुरले खेलको तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागीछन्। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही असोज १९ गते हुनेछ। उक्त प्रतियोगिताका लागि टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार पाँच सय र साधारणतर्फ रु एक हजार निर्धारण गरिएको छ।