नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा सुरू हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रस्तुत गर्दैछन्।
सोमबार पहिलो दिन तीन वटा खेल हुनेछन्। पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं स्पाइकरले सलिना श्रेष्ठको ललितपुर क्विइन्स प्रतिष्पर्धा गर्नेछ।
दोस्रो खेलमा मधेश युनाइटेडले कर्णाली र तेस्रो खेलमा चितवन शक्ति गण्डकी थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछन्।
मधेसकी कप्तान निरुता ठगुन्ना र कर्णालीकी कप्तानीमा मिडल ब्लकर सुमित्रा रेग्मीले गर्दैछिन्।
नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले चितवन शक्तिको नेतृत्व गर्दैछिन् भने गण्डकीको कप्तानीमा सरस्वती चौधरी छिन्।
प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ। फ्रेन्चाइज टोलीले अमेरिका, युरोप र एशियाका उत्कृष्ट खेलाडीहरू अनुवन्धन गरिसकेका छन्।
गण्डकी थन्डर्सकी कप्तान सरस्वती चौधरीले पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज लिगप्रति सबै खेलाडीले उत्साहित रहेको र यो लिगबाट नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गरिन्।
उनले घरेलु खेलाडीका लागि यो लिग राम्रो अवसरका रूपमा लिएकी छिन्। विदेशी खेलाडी समयमा नहुँदा र प्रशिक्षण गर्ने मैदान अभाव भएकाले सुरुका खेलमा तालमेल अभाव हुने उनको बुझाइ छ।
काठमाडौं स्पाइकरकी कप्तान उषा भण्डारीले यो स्तरको प्रतियोगिता पहिलोपल्ट खेल्न लागेको खुसी र उत्साहित रहेको बताइन्।
यस किसिमका आयोजनाले गर्दा अन्य प्रतियोगिताको स्तरबाट बढाउन दबाब हुने उनको आशा छ।
प्रतियोगितामा विदेशी र स्वदेशी खेलाडी पनि राम्रो रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उषाले बताइन्। यद्यपि, मैदान अभाव र समयमा खेलाडी उपलब्ध नहुँदा टिमसँग काठमाडौं स्पाइकरले पनि प्रशिक्षण गर्न पाएको छैन।
प्रतियोगिता अगाडि सम्मेलनमा अधिकांश फ्रेन्चाइज टोलीले यो आयोजनाले नेपालको महिला भलिबलको स्तर बढ्ने आशा राख्दै यसलाई अवसरको रूपमा लिएका प्रतिक्रिया दिएका छन्।
काठमाडौं स्पाइकरका प्रशिक्षक जगदीश भट्टले यो फ्रेन्चाइज लिगपछि नेपाली खेलाडीको स्तरमा वृद्धि आउने आशा व्यक्त गरेका छन्।
कर्णाली एस्भिसका प्रशिक्षक कुमार राईले समय अभावका कारण टिम सेटिङ आशा अनुरूप नभए पनि राम्रो प्रतिष्पर्धा गर्ने बताए।
युनाइटेडका प्रशिक्षक भरत यादवले जित र हारभन्दा पनि यो प्रतियोगितालाई उत्कृष्ट रूपमा आयोजना गर्न सबै खेलाडी, प्रशिक्षक र सरोकारवाल निकायले सहयोग गर्ने बताए।
प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की खेलाडीसहित कुल १२ स्वदेशी खेलाडी छन्। सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गर्नेछन्। प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शीर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन्। उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ।
—न्युज एजेन्सी नेपाल