एभरेस्ट महिला भलिबल लिग (इडब्लूभिएल) को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ।
चितवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा विहान १० देखि साँझ ५ बजेसम्म छनोट कार्यक्रम हुनेछ।
छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन्।
चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ। यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको खेलाडी मात्र छनोटमा भाग लिन पाउनेछ।
छनोट हुने खेलाडीले काठमाडौंमा आगामी असोज १४ देखि १९ सम्म हुने पहिलो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिको टिममा रही खेल्ने अवसर प्राप्त गर्नेछ।