माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो खेलमा जित निकालेको छ।
लगातार तेस्रो जितसँगै पुलिसको फाइनल सम्भावना उच्च भएको छ।
मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबविरूद्ध ३-० को सोझो सेटमा जित निकालेको हो।
सहज रुपमा जित निकाल्ने क्रमम पुलिस २५-१५, २५-१२ र २५-१४ ले विजयी भयो।
यसअघि सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० ले हराएको थियो।
नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
प्रतियोगितामा पुलिसले चौथो खेलमा बिहीबार घरेलु टोली वाम्कोसँग खेल्नेछ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता छ।