भदौ ३० देखि माल्दिभ्समा हुने काभा वुमन्स भलिबल च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाल पुलिस क्लबलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विदाइ गरेका छन्।
असोज ५ गतेसम्म हुने क्लब च्याम्पियनसिपमा भाग लिन जाने पुलिसको टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन्।
प्रहरी महानिरीक्षक कुँवरले भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिए।
पुलिस प्रतियोगितामा राष्ट्रिय च्याम्पियनको हैसियतले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताका लागि एपिएफ क्लबका सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डाइमन्डकी सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट खेल्दैछन्। उनीहरु सो प्रतियोगितामा लागि मात्र पुलिस टोलीमा सहभागी भएका हुन्।
टोलीमा राष्ट्रिय टोलीका सरस्वती, निरुता र सुत्रितासँगै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ, कमला पुन र मनिषा चौधरी छन्। मनिषाबाहेक अरु सबै खेलाडी राष्ट्रिय टोलीका हुन्।