मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ। यससँगै मधेशले तीनै वटा विदेशी खेलाडीको कोटा पूरा गरेको छ।
२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन्।
तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।
केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्। जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।
जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ।
जिनीले मधेशसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै टोलीबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन्।
'मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु। यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खेल्न आउँदैछु। म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।'
मधेशकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताइन्।
जिनीको अनुबन्धपछि मधेश युनाईटेडमा खेलाडी संख्या ११ पुगेको । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।
मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन्। यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेलेका यू-२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन्। जसना महतो पनि मधेशको टिममा छिन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो।
प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुँदैछ।