एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। मधेशले ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।
मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरेको थियो।
मिडल ब्लकर योस्राले ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्य समेत हुन्। २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ। उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन्।
'पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाइटेडबाट खेल्दैछु। लिगमा लागि म उत्साहित छु। नेपालको नाम धेरै सुनेको छु। म यो सुन्दर देशमा खेल्न उत्सहित छु' उनको भनाइ छ।
नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ।
जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन्। यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन्। जसना महतो पनि मधेशको टिममा छिन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।