नेपालमा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) आयोजना हुँदैछ।
प्रतियोगितामा सहभागी ६ टोलीमध्ये मधेश युनाइटेडले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ।
काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्नेछिन्। उनी स्पाइकर पोजिसनमा खेल्नेछिन् ।
३५ वर्षीय कालिनोभासँग काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ।
कालिनोभाले मधेशसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै लिग खेल्न उत्साहित रहेको बताइन्।
मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन्। यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू-२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् ।
यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन्।