बेनीमा बिहीबार सम्पन्न दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ।
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ।
तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई २-३ सोझो सेटमा पराजित गरेको हो।
पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगङ्गा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मङ्गला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो।
बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल सङ्घ सान्त्वना पुरस्कार पाएको छ। पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन्।
यसैगरी, छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन्।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गरेका थिए।