प्रकाश दाहाल स्मृती पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उमहानगरले जितेको छ।
उपाधि जित्ने क्रममा हेटौडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५,१७–२५,२५–१६,२५–१५,१५–४ ले हराएको हो।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक लाख रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौडाका सुजन चोखालले उत्कृष्ट सेटर,उत्कृष्ट लिबरो हेटौडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँ पालिकाका जिबन सुनार उत्कृष्ट ब्लकर भए।
यसैगरी, उपाधि विजेता हेटौडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैँया पुरस्कार पाए । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको थियो ।