यही फागुन ८ गते डडेल्धुराको परशुुराम नगरपालिका, जोगबुुडामा मेयर–उपमेयर कप खेलको समापन कार्यक्रम थियो।
प्रतियोगितामा क्रिक्रेट र भलिबल खेलाइएको थियो। फाइनल खेलपछि समापन कार्यक्रममा महिला भलिबल टिमतर्फ खेल अवधिभर सर्वोत्कृष्ट खेलाडी बनिन् सिर्जना दमाई। खेलको उपाधि पनि सिर्जनाकै टिमले हासिल गर्यो।
महिलातर्फ भलिबल खेलमा नगरपालिकाभरिका ९ वटा टिम सहभागी थिए जसमा करिब एक सय खेलाडी थिए। यो संख्यामा आफू सर्वोत्कृष्ट भएपछि सिर्जना भावुुक बनिन्। उनका आँखा रसाए। उनलाई सफलताको जग बसाल्न इँटा जुटाएजस्तो लाग्यो।
उनले सर्वोत्कृष्ट खेलाडी बनेर जितेको ट्रफी, प्रमाणपत्र र मेडल आफ्ना आमाबुबामा समर्पण गरिन्। उनले भनिन्, ‘म आमाबुबालाई धन्यवाद दिन्छु। म तपाईंहरूलाई खुसी राख्न चाहन्छु।’
यति भनेपछि सिर्जनाका आँखा रसाए। उनले आँखा पुछिन्। एक छिन चुपचाप रहिन् र फेरि बोलिन्।
‘गाउँमा छोरालाई जति टाढा भए पनि, जहाँ गएर पनि खेल्न छुट छ। बाहिर डुल्नघुम्न सजिलो छ। समाजमा कुरा काटिन्छ भन्ने पिर छैन,’ उनले भनिन्, ‘छोरी मान्छेलाई छोरालाई जस्तो सजिलो छैन तर पनि म आफ्नो सपना पूरा गर्न अघि बढेकी छु, डराएकी छैन।’
उनी राष्ट्रिय टिममा पुग्न चाहन्छिन्।
भलिबल खेलेर देशको नाम संसारमा चम्काउन चाहन्छिन्।
उनी भन्छिन्, ‘म विश्वमा मेरो देश चिनाउन चाहन्छु। मेरो कामले मेरा आमाबुबा पनि खुसी हुनुहुनेछ।’
आफ्नो यस्तो सपना पूरा गर्न उनका सामु चुनौतीको थुप्रो छ।
डडेल्धुराको परशुुराम नगरपालिका–४ मा ‘कटाल’ नामको सानो बस्ती छ। यही बस्तीमा जन्मेहुर्केकी १७ वर्षीया सिर्जना भलिबलतर्फ नगरमा सर्वोत्कृष्ट खेलाडी बनेकी हुन्।
सिर्जनाका आमाबुबा रोजगारीका लागि भारतमा छन्। घरमा सिर्जना, उनका एक बहिनी र एक भाइ छन्। खाना बनाउने र भाइबहिनीको हेरविचार गर्ने जिम्मेवारी पनि उनकै छ। एक बहिनी आमाबुबासँगै भारतमा छिन्।
सिर्जनालाई धेरै तिरबाट खेल्ने अवसर आउँछ तर सबैतिर जान सक्दिनन्। खेल्न जान खाना–खाजा, टी–सर्ट हापपाइन्ट, जुत्ता चाहिन्छ। यसमा पैसा खर्च हुन्छ। चाहिएजति पैसा सधैँ जुर्दैन। सधैँ समय पनि पुग्दैन।
उनी भन्छिन्, ‘आमाबुबाले मेरा लागि धेरै गर्नुभएको छ। खेल्न बोलाएजति ठाउँमा जान आमाबुबासँग पैसा माग्न सक्दिनँ। भाइबहिनी पनि हेर्नुपर्छ।’
सिर्जनाले सुदूरपश्चिमको टिमबाट प्रदेशस्तरका प्रतियोगिता खेलिसकेकी छन्। अब उनी राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने अवसरको पखाईमा छिन्। यस निमित्त प्रयासरत छिन्।
उनले प्रदेशस्तरका तीन वटा प्रतियोगिता खेलेकी छन्। वडा, गाउँ, नगर र जिल्लास्तरमा भने धेरै खेलेकी छन्। उनी टिममा स्पाइकरको भूमिकामा हुन्छिन्।
उनको खेल हेर्न गाउँका मान्छे जम्मा हुन्छन्। उनकी काकी चम्फा नेपाली पनि खेल हेर्न जान्छिन्।
चम्फा भन्छिन्, ‘म मात्रै होइन, सिर्जनाको खेल हेर्न गाउँका धेरै मान्छे जान्छन्। हाम्रो गाउँमा ऊ पहिलो खेलाडी हो।’
सिर्जना राम्रो खेल्छिन्। उनको खेल धेरैलाई मन पर्छ तर हरेक पटक टाढा जान कठिन हुन्छ। नगरपालिकाबाट पहिलो पटक जिल्लाको टिममा छनौट भएर
प्रदेशस्तरको प्रतियोगिता खेल्न जाँदा काकीले जोड गरेर पठाइन्।
चम्फा भन्छिन् ‘गाउँमा भलिबल खेल्ने छोरी अरू पनि छन् तर उनीहरू टाढा गएर खेल्न सजिलो छैन। मान्छेले कुरा काट्छन्। हामीले सिर्जनालाई रोकेका छैनौं।’
छिमेकी कलावती चटौतलाई भलिबल खेल मन पर्छ तर खेल्न पाइनन्। उनलाई स्पाइकरले ‘सर्ट’ हानेको मजा लाग्छ। उनी सिर्जनाले खेलेको हेर्न पुग्छिन्।
कलावती मेयर–उपमेयर कपमा महिला भलिबलका खेल हेर्न जोगबुडा गएकी थिइन्। फाइनल खेलमा सिर्जनाका आक्रमक सर्ट देखेर दर्शकहरू खुब रमाए। खेल उनकै टिमले जित्यो।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक लक्ष्मण मडैका अनुसार सिर्जना बलियो सर्ट हान्छिन्। उनले भलिबलमा निकै राम्रो गर्न सक्छिन्।
लक्ष्मणले जोगबुढामा ‘भित्री मधेस भलिबल एकता प्रशिक्षण केन्द्र’ चलाएका छन्। उनी शिक्षण पेसामा पनि छन्। भलिबल खेलमा उनको लामो अनुभव छ।
परशुुराम नगरपालिका–४ स्थित भागेश्वर विद्यालय नजिकै एक मैदानमा भलिबल प्रशिक्षण हुन्छ।
सिर्जना घरबाट आधा घण्टा हिँडेर प्रशिक्षणका लागि जान्छिन्। खेल अभ्यासका लागि व्यवस्थित कभर्ड हल भने छैन।
सिर्जना लक्ष्मणले पढाएकी विद्यार्थी पनि हुन्। प्रशिक्षण गराएको चार वर्ष भयो। भलिबल खेल्न सुरू गर्दा उनी ८ मा पढ्थिन्। अहिले स्नातक तहको पहिलो वर्षमा छिन्।
सिर्जनालाई भलिबल खेलाडी बनाउन लक्ष्मणको पनि योगदान छ।
‘उचाइ अनुसार उनी भलिबलका लागि फिट छिन्। खेल्न नछोड भनेको छु,’ लक्ष्मण भन्छन्, ‘उनी विभागीय टिम एपिएफ वा आर्मी क्लबमा जान चाहन्छिन्। देशका लागि खेल्न चाहन्छिन्।’
लक्ष्मणले व्यक्तिगत रूपमै प्रशिक्षण केन्द्र चलाएका छन्। केही खेलप्रेमीले खेल सामग्री जुटाउन सहयोग गर्छन्। एक पटक राष्ट्रिय खेलकुद परिषदले १० वटा भलिबल दिएको थियो।
उनी भन्छन्, ‘खेल सामग्री नभएर प्रशिक्षण गराउन कठिन हुन्छ। जसोतसो जोहो गर्दै छु।’
सिर्जना दुई वर्षअघि पहिलो पटक धनगढीको रंगशालामा ‘सिनियर प्रदेशस्तरीय महिला भलिबल’ खेल्न गइन्।
खेलमा प्रदेशभरका नौ जिल्लाका टिम सहभागी थिए। राष्ट्रिय टिमका लागि खेलाडी छनौट गर्नु प्रतियोगिताको मुख्य उद्देश्य थियो।
खेल धनगढी रंगशालाको खुला मैदानमा भएको थियो। डडेल्धुराको टिम लगातार पराजित भयो। सिर्जनाका अनुसार अभ्यास नपुगेर खेलाडीको तालमेल भएन, फिटनेस पनि राम्रो भएन।
टिमको हार भएका कारणले आफू राष्ट्रिय टिमका लागि छनोट नभएको उनले ठानिन्।
यही फागुुन २० र २१ गते प्रदेशस्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड’ खेल्न धनगढी पुगिन्। कमीकमजोरी सुुधार गरेर खेल्ने तयारी गरिन् तर सोचेजस्तो भएन। दार्चुलासँग उनको टिम पराजित भयो।
व्यक्तिगत रूपमा भने सिर्जनाले दोस्रो हाफमा राम्रो खेलिन्। दर्शकलाई केही सर्ट देखाउन पाइन्। यो प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छानिने छन्। आफू छनोट हुने उनको अपेक्षा छ। नतिजा आउन बाँकी छ।
आठ महिनाअघि उनले डोटीको सिलगढी नगरपालिकाले सिलगढीमा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलिन्। त्यसमा पनि उनको टिमको प्रदर्शन राम्रो भएन।
नगरस्तरीय प्रतियोगितामा सिर्जनाको टिमले धेरै पटक जित हासिल गरेको छ तर प्रदेशस्तरीय प्रतियोगितामा असफल हुँदा उनी दुःखी छन्।
प्रतियोगिता खेल्ने बेला वर्षमा दुुई पटकसम्म जिल्लामा महिला भलिबल टिम बन्छ तर अहिलेसम्म आधिकारिक टिम बनेको छैन। आधिकारिक बन्न नसकेकाले प्रगति हुन नसकेको प्रशिक्षक लक्ष्मणको बुझाइ छ।
परशुुराम नगरपालिकाले भने भलिबलमा महिला र पुरुष दुबैतर्फ आधिकारिक टिम घोषणा गरेको छ। नगरपालिकाले क्रिक्रेट टिम पनि बनाएको छ।
नगरप्रमुख भरत बडायर जोशीका अनुसार टिममा परेका खेलाडीलाई पढाइमा छात्रवृत्ति दिने योजना छ। खेलाडीलाई वर्षको एकदुई पटक मात्र सम्झनुको साटो वर्षभरि नै खेलाउने र सहयोग गर्ने नीतिअनुसार टिम बनाएको उनको भनाइ छ।
सिर्जना पनि नगरपालिकाले घोषणा गरेको टिममा परेकी छन्। अब अभ्यास र प्रशिक्षणमा सहज हुने उनको अपेक्षा छ। प्रशिक्षक लक्ष्मणका अनुसार ग्रामीण क्षेत्रका खेलाडीलाई खेल सामग्री जुटाउन आर्थिक समस्या छ। प्रशिक्षण गराउन पनि समस्या छ, भरपर्दो सहयोग कतैबाट छैन।
सिर्जनासँग गाउँकै साथी आरती विक पनि खेल्छिन्। उनीहरू दुई जना मिलेर गाउँका भाइबहिनी जम्मा गर्दै खेल्छन्।
सिर्जना भन्छिन्, ‘छोरीलाई घरको चुलोचौको र काममा मात्र लगाउनु हुँदैन। अवसर पाए भने छोरीले पनि राम्रो खेल्न सक्छन्।’
उनी यही विश्वासले खेलमा लागेकी हुन्। देश चिनाउनु उनको ध्येय हो।