नेपालका राइडर बिक्रम थापाले आइतबर जापानको क्लब रेसिङमा जित हात पारेका छन्।
नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई स्थापित गर्दैछन्।
हिजो टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङ्गमा उनले उपाधि हात पारेका हुन्।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे।
३७३ सिसिसम्मको सिङ्गल सिलिण्डर अथवा २५० सिसिको टुइन सिलिण्डर मोटरसाइकलको सो क्लव सिरिजको चौथो राउण्डमा पहिलो स्थान निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपालका थुप्रै रेसिङ इभेन्टका पोडियम होल्डर बिक्रमले एशिया कप अफ रोड रेसिङ, सुजिकि एसियन च्यालेन्च जस्ता अन्तराष्ट्रिय रेसमा राम्रो पदर्शन गर्नुका साथै २०१४ बेजिङ्गमा भएको एफआइए यङ्ग ड्राइभर्स एक्सिलेन्स एकेडेमी ट्रेनिङ्गमा फरमुला रेसिङ्ग तयारीका लागी नेपालबाट छनौट समेत भएका थिए । यस अघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि उनले समेत जितेका थिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनले गत वर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो।