नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए।
पहिलो हुने टोलीले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीलाई १५ हजार नगद पुरस्कार दिइने छ। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख २९ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए। मुख्य प्रायोजकसंगै अन्य प्रायोजकको पनि खोजी भइरहेको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले बताए।
दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ। क्लबले आकर्षक नगद पुरस्कार राशीको बास्केटबल र फुटबल पनि आयोजना गर्दै आइरहेको छ ।
युवाहरुमा फुटसल तथा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने, प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने, खेल मार्फत स्थानीय समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने, स्थानीय स्तरमा खेल पर्यटनको सम्भावना बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।