नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो ।
मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।
आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरुको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो । स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ ।
मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । उनले भनिन्– स्पोटर््स अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरुले मलाई माया गर्नुहुनेछ ।
यसैगरी विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले भने– स्पोर्ट्स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।
आइतबार पत्रकार सम्मेलनमा पुजा, इभाना र हिमाल उपस्थित हुन सकेनन् । पूजा क्रिकेट प्रशिक्षणको क्रममा भारतमा छिन् । यसैगरी इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् ।
पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।
५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।
यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ ।
गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कूल दस विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुँदैछ ।
मञ्च र आइएमइ खल्तीबिच सम्झौता
नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा गौतमले यसपालीको स्पोर्ट्स अवार्ड पोखरामा हुनुमात्र होइन खल्तीसँगको सम्झौता अर्को फरकपन हो भने । कमर्सियल अफिसर गौतमले आइएमइ खल्तीले स्पार्ट्स अवार्डमा मनोनयनमा परेका तथा विजेता सबै खेलाडी तथा खेलकर्मीहरुलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए ।
यसैगरी मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन् । उहाँले आईएमई खल्ती परिवारप्रति कृतज्ञ छौं भन्दै खल्तीले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे । यसअघि मञ्चले डिजिटल पार्टनरको रुपमा ई–सेवासँग लगातार छ वर्ष सहकार्य गरेको थियो । अध्यक्ष अधिकारीले सो सहकार्यका लागि इ सेवालाई धन्यवाद पनि दिए ।
यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औं वर्ष सहकार्य गरिसकेको छ । यसैगरी मञ्चले अवार्ड कार्यक्रमको प्रवद्र्धकको रूपमा रहेको पोखरा महानगरपालिकासँग पनि सम्झौता गरिसकेको छ ।
पिपल्स च्वाइस २०८१ को मनोनयन पर्ने खेलाडीहरुको उपलब्धिः
विजय सिन्जाली (उसु)
– जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जित्न सफल खेलाडी ।
–साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य जित्न सफल ।
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल । त्यसैका आधारमा थाउलु विश्वकपमा स्थान बनाउन सफल ।
–एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडी ।
– विगतमा १३ औं सागमा स्वर्ण र १२ औं सागमा रजत जित्न सफल खेलाडी ।
इभाना थापा (टेबलटेनिस)
– दक्षिण एसियाली टेबलटेनिसमा चार पदक
– एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल
– २७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल खेलाडी ।
–ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल
–एसियन युथ च्याम्पियनसिप उज्वेकिस्तानमा सहभागी
– दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु–१९ गल्र्स स्वर्ण)
– पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ।
हिमाल सोनारी (भलिबल)
– नवौं एनभिएल लिगमा २०८२ ः उपविजेता टोलीका महत्वपूर्ण सदस्य
– पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य ।
– तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण । प्रतियोगिताका बेस्ट सर्भर ।
– नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी । सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी ।
पूजा महतो (क्रिकेट)
–आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटकम च्याम्पियन भएर यु–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान ।
–पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल खेलाडी ।
– शतक बनाउन सफल महिला खेलाडी । नेपालले कुवेतलाई १६५ रनको हराउँदा पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाउन सफल ।
– प्रतियोगितामा सर्वाधिक रन २७२ बनाएर शीर्ष र बलिङमा १० विकेट लिएर दोस्रो स्थानमा रहने सफल खेलाडी ।
–एसिसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी । नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।
– सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन ।
रेखा पौडेल (फुटबल)
– एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी ।
– युएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल ।
– वैकल्पिक खेलाडीका रूपमा खेल्दै रेखा साउदी अरेबियाको अल नासरविरुद्धको १–० को जितमा निर्णायक गोल गर्न सफल । जित हात पार्दै अबुधाबी कन्ट्री क्लब अर्को पुग्दा रेखाको मुख्य भुमिका ।
– साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल खेलाडी । माल्दिभ्सविरुद्ध एक्लैले ५ गोल, श्रीलंकाविरुद्ध २ गोल ।
– साफमा ह्याट्रिक गर्ने दोस्रो महिला खेलाडी ।