काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरूष र महिला टोलीलाई ११/११ लाख नगद पुरस्कार प्रदान गरेको छ।
यस्तै महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ।
खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।
उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए।
‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ,’ उनले भने।
नेपालका रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।
‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु। यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ,’ उनले भने।
खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो।
महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो।
रवीन्द्र ढाँटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै उपाधि हासिल गरेका थिए।
