नेपाली ई-स्पोर्ट्स टोली होर ई-स्पोर्ट्सले साउदी अरेबियामा हुने पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने भएको छ।
होर ई-स्पोर्ट्सको पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन्।
टोलीको म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन्।
जुलाई २५ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई-स्पोर्ट्स एक्लो टिमको रुपमा छनोट भएको हो।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो। झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ।
ई-स्पोर्ट्स संघ नेपाल (ईशान)ले विश्वकप खेल्ने नेपाली टिम होर ई-स्पोर्ट्सको सोमबार विदाइ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाई गरेका थिए।
खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभकामना दिए।