राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन्।
एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई सोमबार शीतल निवासमा बधाई दिँदै उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरेका हुन्।
सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको उनले स्पष्ट पारे।
राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरेका थिए।
देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको उनले बताए।