श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा नेपालले शुक्रबार पाँचौं स्थान हासिल गरेको छ।
‘प्लेअफ’ मा नेपालले ताजाकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् । ताजाकिस्तान छैटौं स्थानमा रह्यो ।
पहिलो सिंगल्सको पहिलो सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७–५ ले पछि पारिन् । त्यसपछि स्वस्तिका ‘रिटायर्ड हर्ट’ भइन् ।
दोश्रो सिंगल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७–५ र ६–२ ले पराजित गरिन् । डबल्समा सुनिरा र अभिलाषा विष्टको जोडीले साइयोरा राजाबलिभा र सुमायाको जोडीलाई ६–३ र ६–१ ले हराए ।
योसहित नेपालले प्रतियोगितामा ३ खेल जित्यो । यसअघि समूह चरणको खेलमा नेपालले म्यान्मारलाई २–१ तथा कतारलाई ३–० ले पन्छाएको थियो । त्यस्तै, श्रीलंकाले नेपाललाई ३–० ले पाखा लगाएको थियो । नेपाल समूह ‘बी’ मा थियो ।
ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए । श्रीलंका पहिलो, तुर्कमिनिस्तान दोश्रो, म्यान्मार तेश्रो, पाकिस्तान चौथो र कतार सातौं स्थानमा रहे । श्रीलंकाले अब ग्रुप २ मा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । पहिलो हुने राष्ट्र ग्रुप २ मा पुग्ने प्रावधान छ ।