युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरू भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी, ओललम्पियन एथलेटिक्सकी सरस्वती चौधरी र ओलम्पियन पारा तेक्वान्दोका भरतसिंह महताले ओलम्पिक टर्च पालैपालो ट्रयाकमा परिक्रमा गराएका थिए ।
उदटनका अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
उद्घाटनका अवसरमा सातै प्रदेशका टिम, निर्णायक, विभिन्न भेषभुषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसंगै मार्च मास्ट गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले खेलाडीको तर्फबाट र कराते प्रकाशमोहन धौबडेलले निर्णायकको तर्फबाट सपथ ग्रहण गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत रूपमा विकास गरेर आयोजना गरिने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७ सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान् खेलाडी उत्पादनको माध्यमका रुपमा राष्ट्रपति रनिङ शिल्डको सुरूआत भएको बताए । उनले विभिन्न चुनौतीकाबीच प्रदेश टिम सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबैलाई धन्यवाद दिए ।
सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथो राष्ट्रपति रनिङ सिल्ड हो । उनको कार्यकालमा १२ औं संस्करणदेखि नियमित रुपमा राष्ट्रपति रनिङ सिल्ड हुँदै आएको छ ।
सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगिता शुक्रबारसम्म जारी रहने छ ।