राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन्।
राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन्। नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगञ्ज म्याराथनजस्ता लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एम्स प्रतिनिधिसँग प्रोत्साहनका लागि आग्रह गरेका छन्।
'भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ । यसमा एम्सजस्ता अन्र्तराष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने अपेक्षा छ’ उनले भने ।
राष्ट्रपति पौडेलले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको महत्व रहेको उल्लेख गर्दै दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपालमा पनि खेलकुदको विकासका लागि सरकारले बर्षेनी लगानी बढाइरहेको र निजी क्षेत्रबाट पनि आकर्षण बढ्दै गएको बताएका छन् ।
गत २१ र २२ जेठमा एम्सको बोर्ड बैठक पहिलोपटक नेपालमा राखिएको थियो। साथै, २३ जेठमा नेपाल अन्तर्राष्ट्रिय रनिङ कन्फ्रेन्स र शनिबार नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस आयोजना गरिएको थियो। राष्ट्रपति पौडेलले सो अवसरमा नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस महिलातर्फकी उपाधि विजेता सन्तोषी श्रेष्ठलाई बधाईसमेत दिए।
नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाल अन्तराष्ट्रिय रनिङ कन्फ्रेन्सका निष्कर्षहरु र नेपाल हेरिटेज रेस काठमाडौँ २५ के रेसबारे जानकारी गराएका थिए । सो भेटमा एम्स अध्यक्ष पाको बोराओलगायत बोर्ड सदस्यहरु, नेपालगञ्ज म्याराथनका संस्थापकहरु सहभागी थिए।