नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ’ए’ ले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।
नेपाल ’ए’ का सदभाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४–अन्डर २ सय ६४ को स्कोरमा स्वर्ण जितेको हो। गोकर्ण गल्फ क्लबमा आज सदभावले १२–अन्डर ६० को अविश्वसनिय स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए। राहुलले आज ४–अन्डर ६८ स्कोर गरे। नेपाल ’ए’ ले आज १६–अन्डर १ सय २८ को स्कोर गर्दा भुटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हरायो।
निम दोर्जी तामाङ र डेचेन लेन्डुपको भुटानी टिम काउन्ट ब्याकमा दोस्रो भयो। भुटान र बङ्गलादेश इभन–पार २८८ मा बराबरी भएपछि काउन्ट ब्याकमा नतिजा निकालिएको हो।सफिकुल इश्लाम र मोहम्मद सहाब उद्दीन सम्मिलित बङ्गलादेशको टिमले कास्य पदक हात पार्यो।
च्याम्पियनसिपको दोस्रो दिन व्यक्तिगत स्पर्धामा नेपालका सदभाव आचार्य शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। ३६ होलको समाप्तीमा समग्रमा १८–अन्डर १ सय २६ को स्कोरमा सदभावले भारतका सुमित कोटवाललाई ८ स्ट्रोकले पछि पारेका छन्।
सदभावले १२–अन्डर ६० को सानदार स्कोरमा प्रोफेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११–अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए।
कोर्स रेकर्ड बनाउने क्रममा सदभावले १२ बर्डी प्रहार गरे। फ्रन्ट र ब्याक नाइन दुवैमा ६–अन्डर ३० को स्कोर निकाले। सदभावले पहिलो होलमा बर्डी प्रहार गर्दै दोस्रो दिनको सुरूआत गरे। यसपछि तेस्रो देखि छैटौं होलमा लगातार ४ र नवौं होलमा पनि अर्को बर्डीको सफलता प्राप्त गरे।
यसपछि ११औं देखि १५औं होलमा लगातार ५ बर्डी प्रहार गर्दा शुक्रको रेकर्ड बराबरी गरेका थिए। १६औं र १७औं होलमा पार जोगाए। १८औं होलको बर्डीले कोर्स रेकर्ड बनाउन सफल भएका हुन्। यो स्कोर उनको करियरको उत्कृष्ट प्रदर्शन हो। उनले गत बर्ष सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ८–अन्डर ६४ को स्कोर निकालेका थिए।
दोस्रो स्थानमा उक्लिएका सुमितले समग्रमा १०–अन्डर १ सय ३४ स्कोर गरे। उनले आज ८–अन्डर ६४ को स्कोर दर्ज गरे। पहिलो, दोस्रो, चौथों, छैटौं, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ६–अन्डर ३० मा सकाए। ब्याक नाइनमा पनि सुमितले ११औं, १२औं, १५औं र १८औं होलमा एक–एक सट बचाए। तर ४–पारको १४औं होलमा डबल बोगी खेप्न पुगे। ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे।
नेपालका राहुल विश्वकर्मा समग्रमा ६–अन्डर १ सय ३८ सहित तेस्रो स्थानमा छन्। उनले आज ४–अन्डर ६८ को स्कोर कार्ड बनाए। फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन ३–अन्डर ३३ मा सकाए। तेस्रो, सातौं, १२औं, १४औं र १५औं होलमा बर्डी प्रहार गर्दा चौथों होलमा एक सट खेर फाले।
समग्रमा ४–अन्डर १ सय ४० को स्कोरमा श्रीलंकाका रेशन अलगामा र बङ्गलादेशका मोहम्मद सहाब उद्दीन संयुक्तरुपमा चौथों स्थानमा छन्। आज रेशनले ४–अन्डर ६८ र सहाबले २–अन्डर ७० को स्कोर बनाए।
समग्रमा २–ओभर १ सय ४६ को स्कोरमा भुटानका निम दोर्जी तामाङ र नेपालका टासी छिरिङ संयुक्तरुपमा सातौं स्थानमा रहे। दुवैले आज इभन–पार ७२ स्कोर गरे। यस्तै समग्रमा ४–ओभर १ सय ४८ सहित बङ्गलादेशका सफिकुल इस्लाम (७३) र नेपालका वाङ्गचेन ढोन्डुप (८०) सहित संयुक्तरुपमा नबौं स्थानमा छन्।
महिलातर्फ भारतकी अनन्थी विवेक समग्रमा ३–अन्डर १ सय ४१ सहित भारतकै दिया क्रिस कुमारलाई १४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहेकी छिन्। आज अनन्थीले २–अन्डर ७० को स्कोरमा खेल सकाइन्।
आज १–अन्डर ७१ को स्कोरमा दिया समग्रमा ११–ओभर १ सय ५५ सहित दोस्रो स्थानमा रहेकी छिन्। नेपालकी तारा कार्की चित्रकारले समग्रमा १९–ओभर १ सय ६३ सहित तेस्रो स्थानमा रहेकी छिन्। आज उनले ११–ओभर ८३ मा खेल पुरा गरिन्।
च्याम्पियनसिपको यु–१६ ब्वाइजतर्फ भारतका भिभान उभायकर समग्रमा १–ओभर १ सय ४५ सहित ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। आज उनले १–अन्डर ७१ खेले।
भारतका प्रिम्स बैंन्सला समग्रमा ५–ओभर १ सय ४९ सहित दोस्रो स्थानमा छन्। उनले आज २–ओभर ७४ को स्कोर निकाले। भारतकै अदभय बगला समग्रमा ८–ओभर १ सय ५२ सहित तेस्रो स्थानमा रहे। उनले आज ४–ओभर ७६ को स्कोर निकाले।
समग्रमा ९–ओभर १ सय ५३ सहित नेपालका रुबेन थापा चौथों स्थानमा रहे। भारतका पिएस निलोफर तथा नेपालका डयानियल बाँनियाँ, सोहम अग्रवाल, दीपसन लामा र अभानी राईले कट बनाएका छन्।
तीन दिने ५४–होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको छ। यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।