गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गरेको छ ।
लिगमा गोल्डेनगेटको यो लगातार सातौं जित हो र यो जितले गोल्डेनगेट फाइनल नजिक समेत पुगेको छ ।
८ खेलबाट १५ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा उक्लेको छ । समान अंक भएपनि हाउण्ड्स अंक अन्तरको आधारमा दोस्रोमा छ । यस्तै समान खेलबाट १३ अंक रहेको टाइम्स बास्केटबल क्लब तेस्रो स्थानमा छ ।
अब लिगमा दुई चरणको खेल बाँकी छ । त्यसपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ ।
हाउण्ड्सले अब दुवै खेल शीर्ष तीन भित्रको टिमसँग खेल्न बाँकी छ । हाउण्ड्सले टाइम्स र गोल्डेनगेटसँग खेल्न बाँकी छ । यस्तै टाइम्स र गोल्डेनगेट दुवैको बाँकी अर्को खेल सामाखुशी युथ क्लबलसँग छ ।
हाउण्ड्स र टाइम्स तथा हाउण्ड्स र गोल्डेनगेटबीचको खेल नै फाइनल पुग्ने दुई टोलीको तय गर्नेछ ।
रोएल, कीर्तिपुर र सामाखुशी भने फाइनल होडबाट बाहिरिएका छन् ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २३-१२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर सामुखशीले १९-१६ ले आफ्नो पक्षमा पार्यो । हाफटाइमसम्म गोल्डेनगेटले नै ३९-३१ को अग्रता लियो । तेस्रो क्वाटरले १९-१५ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले ५८-४६ को अग्रता बनायो ।
चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१३ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पर्याप्त भएन ।
गोल्डेनेगटका लागि मोस्ट भ्यालुएबल प्लेअर निकेश मगरले सर्वाधिक २२ अंक स्कोर गरे । यस्तै सामाखुशीका प्रज्वल महर्जनले पनि २२ अंक नै स्कोर गरे ।