भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले १२ स्कोर गरे । लालीगुराँस नेसनल एकेडेमी तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन् । फेरिल्यान्ड तेश्रो भयो ।
जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन्। जुनियर ब्वाइजमा लालीगुराँसका साहिद पुन र सिनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा न्युटनका आशिष पुन र सिनियर गल्र्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर गल्र्समा क्यान्भास बसन्त ऋतु तथा सियिनर गल्र्समा केभीकेएसएस उदीयमान टिम ठहरिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईं, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन, बीएनएका विद्यालय संयोजक सन्तोष फुयाँललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।