हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोयल्सले दोस्रो जित हात पारेको छ।
लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोयल्सले सामाखुशी युवा क्लबलाई ९३–८३ ले पराजित गरेको हो।
सुरुवातदेखि नै अग्रता लिएको रोयल्सले त्यसलाई अन्तिमसम्म कायम राख्दै जित निकालेको हो।
दोस्रो जितपछि रोयल्सले ४ खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको यो लगातार चौथो हार हो।
रोयल्सले पहिलो क्वाटर १८–१७ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २८–१९ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफटाइमसम्म ४६–३६ को अग्रता बनाएको थियो । त्यसपछि तेस्रो क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै २४–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो क्वाटर रोयल्सले २६–२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
रोयल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
सामाखुशीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे ।