अमेरिकाको पोर्टल्यान्डमा स्थापित पहिलो नेपाली तेक्वान्दो स्कुल युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउड ले आफ्नो ३०औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
सन् १९९५ मा ग्राण्ड मास्टर दिवाकर महर्जनद्वारा स्थापना गरिएको यस संस्थाले तीन दिने कार्यक्रमको आयोजना गर्दै तीन दशक लामो यात्रालाई उत्सवका रूपमा मनाएको हो।
कार्यक्रम अन्तर्गत कोरियाबाट आमन्त्रित ग्राण्ड मास्टर मिन हक सेडले शुक्रबार र शनिबार गरी चार वटा सेमिनार सञ्चालन गरे भने आइतबार थप एक सेसन सञ्चालन गर्ने कार्यक्रम रहेको छ। कुक्किवान अर्थात् विश्व तेक्वान्दो मुख्यालयका शिक्षा समिति सदस्य समेत रहेका सेडले विश्वभर तेक्वान्दो प्रशिक्षण र सेमिनारहरू सञ्चालन गर्ने गर्दछन।
शुक्रबारको सेमिनारमा ४५ जना प्रशिक्षक तथा खेलाडी सहभागी भएका थिए भने शनिबार दुई छुट्टाछुट्टै सेसनमा ३० र ३५ जना सहभागी भए। अस्ट्रेलिया लगायत अमेरिका भित्र आठ वटा राज्यबाट तेक्वान्दो प्रशिक्षकहरू पोर्टल्यान्ड आएका थिए। सेडले तेक्वान्दोका परिमार्जित नियमहरू र आत्मरक्षा प्रविधिबारे डेढ—डेढ घण्टाको प्रशिक्षण दिएका थिए।
शनिबार बेलुका आयोजित विशेष समारोहमा हरेक महिनाका उत्कृष्ट १२ जना खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो। खेलाडीहरूको सम्मानमा विशेष रात्रिभोजको पनि आयोजना गरिएको थियो।
समारोहको सुरुवातमा ग्राण्ड मास्टर महर्जनले तीन दशकसम्म संस्थामा साथ दिने अभिभावक, प्रशिक्षक, खेलाडी तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्दै भने, "आजको दिन विशेष हो, यो मेरो मात्र होइन, हाम्रै सम्पूर्ण समुदायको हो।" उनले सबै सहभागीलाई स्वागत गर्दै सँगैको सहयात्राको कदर गरे।

मार्चदेखि जुलाई २०२४ सम्मका उत्कृष्ट खेलाडीहरूलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन का अध्यक्ष लव गोर्खालीले ट्रफी प्रदान गरे।
कार्यक्रममा वर्षको उत्कृष्ट घोषित परिवार तथा सामुदायिक कार्यक्रममा योगदान दिने अभिभावक र स्वयंसेवकहरूलाई पनि सम्मान गरिएको थियो।
समारोहमा ग्राण्ड मास्टर मिन हक सेड र नेपाली तेक्वान्दोका वरिष्ठ अगुवा ग्राण्ड मास्टर जे के शिनले वर्षका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी वितरण गरे। पोर्टल्यान्ड शहरका मेयर कीथ विल्सनको शुभकामना सन्देश समेत कार्यक्रममा वाचन गरिएको थियो।

कार्यक्रममा तेक्वान्दो खेलाडी र प्रशिक्षकहरूको सांगीतिक नृत्य प्रस्तुति आकर्षणको केन्द्र बन्यो।
कार्यक्रमको समापनमा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन ले ओलम्पियन विधान लामा, ग्राण्ड मास्टर दिवाकर महर्जन र मिनु महर्जनलाई तेक्वान्दो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गर्यो।
