अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन्।
दुई दिन प्रतिस्पर्धा भएको प्रतियोगितामा अशोकले पुम्से र ग्यारोगीतर्फ रेफ्रीको भूमिका निर्वाह गरेका थिए।
४० भन्दा बढी अन्तर्राष्ट्रिय निर्णायकले खेलाएको उक्त प्रतियोगितामा अशोक पुरूषतर्फ उत्कृष्ट रेफ्री घोषित भएका हुन्।
प्रतियोगितामा नेपालका अदिश खड्काले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका थिए।
अशोक नेपालका ग्यारोगी तथा पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन्। उनी पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुन्।
टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समेत पर्न सफल भएका खड्काले ५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’का रूपमा सम्मानित भइसकेका खड्का नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन्।