अन्तर्राष्ट्रिय केम्पो फेडेरेसन (आइकेएफ) को आयोजनामा पोर्चुगलमा भएको विश्व केम्पो च्याम्पियनसिप २०२५ मा ऐतिहासिक पदक जितेका नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बधाइ तथा सम्मान गरेका छन्।
मन्त्रीले नेपाल केम्पो खुकुरी फेडेरेशनका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई आधिकारिक रूपमा बधाई र सम्मान ज्ञापन गरे। प्रतियोगितामा नेपालले जम्मा ७ वटा पदक (२ रजत र ५ कास्य) हात पारेको थियो।
नेपालका लागि विपेश थापाले चार पदक जिते भने अन्जना शाहीले तीन पदक हात पारेकी थिइन्।
थापाले एक रजत र तीन कास्य गरी कुल चार पदक जित्न सफल भए। अन्जनाले एक रजत र दुई कास्य गरी जम्मा तीन पदक जित्न सफल भएकी थिइन्।
पदक जितेका दुवै खेलाडी पाँचौ डानप्राप्त हुन्।
मन्त्री तेजुलाल चौधरीले यस उपलब्धिलाई नेपाली खेलकुदको स्वर्णिम अध्याय भनेर प्रशंसा गरेका थिए।