विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।
ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो।
आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे।
चार टोली सहभागी महिलातर्पm लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ । अब आगामी आइतबार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेसले भने अंक जोड्न सकेका छैनन् ।
शनिबार नै भएको पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकालेको हो । पुलिसको जितमा नवराज खत्रीले ह्याट्रिक पूरा गरे । उनी प्लेअर अफ दी म्याच भए । यो जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवतै छ।
शनिबार नै भएको पहिलो खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी गर्यो । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संघम घर्तिमगरले एक गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे ।
तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो । समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक र मधेस अंकविहीन छ । अब कोसी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।