आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन सोमबार ६ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । ग्योरोगी र पुम्सेमा गरी ३६ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन २६ स्पर्धाको फाइनल सम्पन्न हुँदा एकेडेमी ‘ए’ ६ स्वर्ण जित्न सफल भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा एब्सोलुट र श्रीनले समान २–२ स्वर्ण जितेका छन् ।
प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।
दुईदिने प्रतियोगितामा ४ सय ७९ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।