इ-स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन इ-स्पोर्ट्स च्याम्पियनसिप आयोजना हुने भएको छ।
आइतबार आयोजक संस्था इ-स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो।
संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए।
‘इ-स्पोर्ट्सको पब्जी मोबाईल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेका छौं,’ धमलाले पत्रकार सम्मेलनमा भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास छ।’
संघका अनुसार अनलाईनमार्फत हुने प्रतियोगिता बैशाख २६, २७ र २८ गते सञ्चालन हुनेछ।
संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले प्रतियोगितामा नेपाल सहित एसियाका १३ देश सहभागी हुने बताए। उनका अनुसार प्रतियोगितामा मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्सले सहभागीता निश्चित गरेका छन्।
सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागीता निश्चित गरिएको उल्लेख गरे।
ईशानको इभेन्ट कमिटीका संयोजक समेत रहेका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तिव्र रुपमा अघि बढेको बताउँदै प्रतियोगितालाई भब्य बनाउन संघ लागिपरेको बताए।
कुल १० लाख प्राइज पुल रहेको प्रतियोगितामा शीर्ष ६ टिमले पुरस्कार रकम प्राप्त गर्नेछन्। पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष कल्पदीप राई, सचिव बालकृष्ण केसी, सदस्य घनश्याम ढुङ्गेल, सिजन भट्टराई लगायतको उपस्थिति रहेको थियो।