बुटवलमा सम्पन्न `रन टु शाइन´ टेन के दौड प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन्।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा सर्वाधिक पुरस्कार राशी सहितको १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको थियो।
प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक–एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। तीन विधामा भएको खुल्ला दौड प्रतियोगितामा ६ सयजनाले प्रतिस्पर्धा गरेका हुन्। नाम भने एक हजार ६ सय जनाले दर्ता गराएका थिए।
बैंकको प्रधान कार्यालय कालिकानगरबाट सुरु भएको प्रतियोगितामा उत्साहजनक सहभागीता थियो। महिलातर्फ सन्तोषीले निर्धारित १० किलोमीटर दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने पुरुषतर्फ मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरेका हुन्।
त्यस्तै महिलातर्फ पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन्। पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडुवाल पाँचौं भए।
दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौ हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन्।
पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने। महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने।
यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन्। पुरुषतर्फ युव बहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन्।
दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन्।
बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमा आएर समापन भएको थियो।प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए।
विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका थिए।
काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको बिकास यो बैंकको अधिकृत पूँजी ८ अर्व रुपैयाँ जारी पुँजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ।
२०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन ६९ अर्ब ७२ करोड रुपैयाँ (वचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ।
कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।