शुक्रबारदेखि सुरू हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने सहभागी ६ नै टोलीले दाबी गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रबारबाट सुरू हुँदैछ।
उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी प्रश्तुत गरेका हुन्। नेपालमा पहिलोपल्ट हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्याण्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिष्पर्धा गर्दैछन्। लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ।
शुक्रबार हुने उद्घाटन खेलमा काठमाण्डु माभरिक्स र पोखरा लेकर्सले प्रतिष्पर्धा गर्ने तालिका रहेको छ। नेपाल राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोक्कामगर काठमाण्डुका मार्की हुन्। काठमाण्डुले सरोजकुमार सिंहको प्रशिक्षणमा तयारी गरेको छ। प्रशिक्षक सरोजले तयारी राम्रो रहेको र टोलीमा पनि अनुभवी खेलाडी रहेकाले सुखद् नतिजा ल्याउने आशा व्यक्त गरे। उनले टोलीमा अनुभवी विदेशी खेलाडी अनुवन्ध गरेका पनि उल्लेख गरेका छन्।
पोखरा लेकर्सको मार्की प्रदीप मिजार हुन्। राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा उत्रँदैछ। पोखराका प्रशिक्षक भट्टले जुनियर विश्व च्याम्पियनसिप, नेपालको राष्ट्रिय टोली र प्रो कबड्डीका खेलाडी आफ्नो टोलीमा रहेको र टोलीको तयारी पनि राम्रो रहेको बताए।
मार्की खेलाडी प्रदीपले पुस ६ गतेदेखि प्रशिक्षण गरेको उल्लेख गर्दै अनुभवी र युवासहित आफ्नो टोली सन्तुलित रहेको बताए। उनले राम्रो रणनीति र उच्च मनोबलका साथ तयारी गरेको बताए। साथै उनले उपाधि जित्ने पनि विश्वास व्यक्त गरेका छन्।
जनकपुरको प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा हुन्। जनकपुरकी प्रशिक्षक राईले पहिलोपल्ट हुन लागेकाले अझै तयारी पर्याप्त हुन नसकेको उल्लेख गरिन्। उनले आफूसँग भएको लामो अनुभव रहेको र त्यही अनुरूप तयारी गरेको बताइन्।
थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, हिमालयनमा गणेश पार्की छन्। विराटनगरले लोकबहादुर विष्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ। भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्। हिमालय रेइडर्सले करिव २२ दिन भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो।
भारतीय टोली सम्हालिसकेका प्रशिक्षकले पनि तयारीका साथ दिएको हिमालयनको भनाइ छ। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले कम्तीमा दुई देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्। एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन्।