नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि बिदेशी खेलाडी र प्रशिक्षक काठमाडौं आउन थालेका छन्। भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच जना खेलाडी आइसकेका छन्।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो बिदेशी आलोक सिंह बने। यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन्। पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्र्याएको छ। उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन्। एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन्।
काठमाडौं माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौं आइपुगेका छन्।
एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना बिदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने एनकेएलले जनाएको छ। लिगमा ६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।