काठमाडौ भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ को एकल तर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन्।
भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पुरुष एकल तर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन्।
यस्तै महिलातर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएकी हुन्। पुरुषतर्फ साई प्रसाद तिगला र बिश्वजित चौधरी तथा महिला तर्फ ईशिता नेगी र दिया भिमैया संयुक्त कास्य पदकमा सिमित भए।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगल तर्फको उपाधि आन्या बिष्ट र एन्जल पुनेराले हात पारे।
उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पराजित गरेका हुन्। तेश्रो स्थानमा ईशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे।
पुरुष युगल तर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधि जिते। छाबरा र चौधरीको जोडीले दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका हुन्। तेश्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी. लालरामसंग र सौरभ साहुको जोडी रहे।
मिक्स युगल तर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए। तेश्रो स्थानमा सौरभ साहु र प्रगती परिदा तथा बिजोन जैसन र आन्या बिष्टको जोडी रहे।
पाँचवटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको थियो।
तीन दिने प्रतियोगितामा सहभागी ९९ खेलाडीमध्ये भारतका ६०, नेपालका १६, थाईल्याण्डका १०, युएइका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १/१ जना खेलाडीहरुको सहभागिता रहेको थियो।