नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् ।
गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गरे । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ सेकेन्डमा दोश्रो तथा गजेन्द्र राई ३२ मिनेट १४.६ सेकेन्डमा तेश्रो भए । नरेन्द्रसिंह रावल चौथो तथा अजितकुमार यादव पाँचौं स्थानमा रहे । दोश्रोदेखि चौथो स्थानमा रहने खेलाडी पनि आर्मीकै हुन् भने अजित नेपाल प्रहरीका हुन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३६ मिनेट ४३.३५ सेकेन्ड खर्चिन् । ३७ मिनेट ५४.१९ सेकेन्डमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा ३८ मिनेट ४३.८१ सेकेन्डमा आर्मीकै सुनसरी रोकाय तेश्रो बने । एपीएफकाद्वय आशा रावत र फुलमति राना क्रमशः चौथो र पाँचौं भए ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटर दूरीमा शेर्पालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. का मिङमारसिंह तामाङ पहिलो, राइजिङ एकेडेमी काठमाडौंका सुमन भण्डारी दोश्रो, एसियन लाइफ इन्स्योरेन्सका कृष्णराज रोकाया तेश्रो, ट्राभल एन्ड टुरिजमका विकेश घिमिरे चौथो र मदरल्यान्ड सेक्युरिटी प्रा.लि. का विशाल भण्डारी तामाङले पाँचौं स्थानमा दौड टुंगाए ।
सोही विधा र दूरीको महिलातर्फ नाजारथ स्कुलकी रजिना दुलाल, सानिमा रिलायन्सकी स्वस्तिका कार्की र श्रीशा भण्डारी, महालक्ष्मी विकास बैंककी संगिता लामा तथा गरिमा विकास बैंककी निर्मला कुमालले क्रमशः पहिलोदेखि पाँचौं स्थान हात पारे ।
चारै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजारका दरले नगद पुरस्कार पाए । रेस लाजिम्पाटस्थित गरिमाको केन्द्रीय कार्यालयबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।
विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, आयोजक गरिमाका अध्यक्ष श्यामप्रसाद बस्याल, गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा कात्तिक १४ गते भएको महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रत्येक गोलवापत टिमलाई १ लाख प्रदान गर्ने पूर्वघोषित पुरस्कार पनि गरिमाले प्रदान गरेको थियो । फाइनलमा बंगालदेशले नेपाललाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।