राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् ।
सदस्य–सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाइ दिदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।
‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ ।’ सदस्य–सचिव घिसिङले भने ।
सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रकृया सुरु भइसकेको जानकारी गराए ।
विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५ औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन् । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए ।
विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औं सागमा स्वर्ण जितेका छन् ।
थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।